रुपक पुरी (रासस)
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका – २ कुञ्चोकका महिलाहरु गाउँमै उत्पादन गरिएको सिस्नुका पाउडरलाई अर्गानिक ब्रान्ड बनाएर बिक्री गर्नका लागि एकजुट भएका छन् ।
जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाहरूले बाँझो बसेर खेर गइरहेको जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला दिदीबहिनीहरू पनि यसतर्फ आकर्षित भएको निर्मला सुनारले बताउनुभयो । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं,” उहाँले भन्नुभयो । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।
माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाहरूले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुदेखि सिस्नुबाट बन्ने अनेक परिकारको उत्पादन गर्ने गरेको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापा मगरले बताउनुभयो । “यसलाई एउटा ब्रान्ड नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥यााउने लक्ष्य राखेका छौं,” अध्यक्ष रतिले भन्नुभयो,“यसका लागि गाउँपालिकामा कुरा गरेका छौं ।”
सिस्नु उत्पादन र बिक्रीका बारेमा सुरुमा दश जनाको महिलाले कृषि उत्पादनमा सिस्नुलाई रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् । “सुस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ ।” सहकारीको अध्यक्ष थामामगरले भन्नुभयो । सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक १५ हजारसम्म आम्दानी गर्दै आएको छ । “उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौं,” व्यावसायिक सिस्नु खेतीमा रमाएकी सुन्तली नेपालीले भन्नुभयो “त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ ।” वरीपरी यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरण गर्नमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नु धुलो पार्ने मेसिन दिएपछि महिलाहरूले यो खेती सुरु गरेका हुन् । २५ जनाको महिला सदस्यीय सहकारी भएपनि दश जनाले सिस्नुलाई व्यापारमा ल्याउनमा विभिन्न संस्थाले तालिम, मेसिन उपलब्ध गराएको थियो । सिस्नुको अर्गानिक उत्पादन देखेपछि गाउँमा यसको लहर चलेको छ । गाउँलेले खेतबारीमा सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ । ठूलो परिणाममा उत्पादन हुन थालेपछि बजारको लागि गाउँपालिकालाई सहकारीले अनुरोध गरेको अध्यक्षले रतिले बताउनुभयो ।