सम्पर्क

मेलम्चीमा बाढीले बाटो बन्द सुत्केरीलाइ हेलीकप्टर

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डका बिभिन्न स्थानमा बाटो बगाउँदा यातायात सेवा आवत जावतमा अवरुद्ध भएको छ । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा सडक अवरुद्ध भएको छ ।बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वर्षा मापन भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलयले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।भारी वर्षाका कारण हेलम्बु ग्याल्थुम तथा मेलम्ची नदी तटीय क्षेत्रका स्थानीयले घर छाडेका छन् । मेलम्ची नदीको नाकोते बाढी मापन केन्द्रमा जलसतह १ दशमलव ५ मिटरले बहाव वृद्धि भएर बाढी आएको जनाएको छ ।मेलम्ची–हेलम्बु सडक बाढीले बगाएपछि हेलम्बु गाउँपालिका–५ की सुत्केरी माया तामाङलाई विहान हेलिकप्टरबाट उद्धार गरी राजधानी लगिएको छ ।सुत्केरी भएका महिला अत्याधिक रक्तस्रावका कारण जटिल अवस्थामा पुगेपछि हेलिकप्टर बोलाएर थापाथलीस्थित सरकारी अस्पतालमा पुर्‍याइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउँनु भयो । बाढीले सडक क्षति बनाएपछि अहिले उक्त स्थानमा सवारी साधन र पैदल यात्रा पूर्णरुपमा रोकिएको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ्गले नगरपालिकाका बाट हुने सर्बै खालका उपाय लगाएर पिडामा परेका नागरिकको तत्काल उद्धार गरी समस्याका स्थाइ समाधान गर्न हरेक उपाय अबलम्बन गरिने बताउँनु भयो ।