
मंगलबार विहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर नेपाली काँग्रेसको सदस्यता लिएर काँग्रेस प्रबेश गर्नु भए पछी नायीका श्वेता खड्काले साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत आफू राजनीतिमा आउनुको र कांग्रेस नै रोज्नुको कारण खुलाउँदै कांग्रेससँग पारिवारिक लिगेसी जोडिएको, सिद्धान्त मनपरेकाले प्रवेश गरेको बताउँनु भएको छ । उहाँले राजनीतिमा लागेर समाजसेवालाई सक्रिय रुपमा अगाडि बढाउने र अकुत सम्पत्ति आर्जन गर्ने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्ने अभियानमा सक्रिय रहने घोषणा समेत गर्नु भएको छ ।
उँहाले कलाकारिता, ब्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्ततः उनै महामानवको बिचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आवद्धता जनाएकी छु। मैले लिएको यो राजनीतिक निर्णयप्रति विभिन्न क्रिया र प्रतिक्रियाहरु अवश्य नै प्राप्त हुनेछन्। यसरी प्राप्त हुने सकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिक्रियालाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनीतिक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु।
एउटा कलाकारले कुनै एक पार्टीको ब्यानरभित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ। कलाकारले कलाकारितानै गर्नुपर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली कांग्रेसको राजनीतिक सिद्धान्तमा आफूलाई समाहित गराएकी छु। यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्वःसंवाद, स्वःविश्लेशण र स्वःविचार गरेकी छु। मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास, परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो। हामीले राजनीतिबाट जति नै टाढा रहन खोजे पनि हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छ नै। त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ। अतःराजनीतिको यो अछुण्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ। मेरो यो पाइलामा आम परिवर्तनकारी, विकासप्रेमी तथा बुद्दिजिवी बर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु।
राजनीति बिसुद्ध ’सामाजिक सेवा’को क्षेत्र हो न कि ’ब्यवसायिक पेशा’। राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनको निमित्त अब हामी आफू पनि अग्रसर हुनुपर्ने आवश्यकता महसुस गरेकी छु। सधै राजनीतिलाई ’फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरुप्रति धारे हात लगाउने अनि गालीको बर्षा गर्ने हाम्रो निष्कृय प्रवृत्तिलाई त्याग्ने बेला आएको छ। सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरी छ। यसको लागि राजनीति नै एउटा उत्तम माध्यम हो। मैले यही माध्यमलाई आत्मसाथ गरेकी हुँ। यसको लागि मैले आदरणीय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु।
मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्धान्त खराब हुँदैन। त्यो सिद्धान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो। एमाले, कांग्रेस, माओवादी, राप्रपालगायत सबै दलका संस्थागत सिद्धान्तहरु राम्रा छन्। सबै दलले विकास, समृद्धि र परिवर्तनको एजेण्डा उठाएका छन्। तर ति एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएकामात्र हुन्। यही असफलताका कारण उद्योग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन्। हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ। अतःकेही सीमित ब्यक्तिहरुको स्वार्थका कारण असफल भएका ति एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सक्रियताको खाँचो छ। पोखरी फोहर भयो भनेर पोखरीको लेउलाई गाली गर्नुभन्दा त्यो लेउ हटाउन आफैले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्छ। अतः सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सक्रियता खाँचो छ।
मैले आफ्नो राजनीतिक सक्रियताको लागि भने नेपाली कांग्रेसलाई चुनेकी छु। मेरो पारिवारिक पृष्ठभूमिले पनि मलाई नेपाली कांग्रेसको सिद्धान्तलाई अंगाल्न सहयोग पुगेको हो। नेपालको राजनीतिक परिवर्तनमा अहम् भूमिका खेल्ने नेपाली कांग्रेसजस्तो बिशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापति तथा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्युप्रति हार्दिक आभार ब्यक्त गर्दछु। साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनीतिक यात्राको लागि मलाई संधै हिम्मत, हौसला र उर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुप्रति म हार्दिक नमन गर्दछु। विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठूलो योगदान दिन सकेकी छैन। आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु। नेपाली कांग्रेसको नीति, सिद्धान्त र यस्को मूल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक बिकास र बिसुद्ध ’सेवा’ को भाव बोकेर आफूलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन। साथै, म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यस दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हक हितको निमित्त आफ्नो आवाज बुलन्द गर्ने । सामाजिक सेवाको पाटोलाई अझ सशक्त रुपमा अगाडि बढाउनको निमित्त नेपाली कांग्रेससंगको आवद्धताले मलाई थप मार्ग प्रशस्त गराउनेमा विश्वस्त छु।
अन्तमाः हरेक ब्यक्तिलाई आ–आफ्नो राजनीतिक स्वतन्त्रता छ। मेरो बैचारिक सिद्धान्तसँग मेल खाने राजनीतिक दलसँगको निकटता, आवद्धता वा सहकार्य पश्चात पनि फरक विचार राख्ने कुनै ब्यक्ति वा दलप्रति मेरो कुनै पूर्वाग्रह रहने छैन। जो जहाँ रहे पनि, जो जता गए पनि, देश र जनताको निमित्त निस्वार्थ भावले काम गर्न सकौं भन्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका १४मा रहेको सिमान्तकृत माझी बस्तीलाइ एकीकृत नमुना बस्तीको रुपमा बिकास गर्न लागी पर्नु भएको खड्का नेपाली काँग्रेस प्रबेस गर्नु भए पछी स्थानीय हरुमा पनी खुशी छाएको छ । नेपाली काँग्रेसको सरकारले त्यहाँका माझी समुदायको समस्या नजीकबाट हेरेको र यसको समधान पनी काग्रेसबाटै हुने नेपाली काँग्रेस १४ नं वडा इकाइ सभापती बिनोद तामाङ्गले बताउँनु भयो ।
