
- पूर्णप्रसाद श्रेष्ठ ‘साहस’
जनावरलाई तर्साउँन,
वालीनाली जोगाउँन,
खेतका गरा र वारीका
सुर्काहरुमा
किसानहरुले बुँख्याचा उभ्याए झैं,
यहाँपनि देखें
एकहुल बुँख्याचाहरु !
बोल्दैन बुँख्याचा,
तर ब्याख्या गर्छ !
जाडो हुँदैन यसलाई,
तर कपडा लगाउँछ ।
चल्दैन बुँख्याचा,
तर चलायामान छ यो !
गधाहरु त डराउँदा हुन्
तर बाघ र सिंहहरु
सुंघ्ने क्षमता भएकाहरु,
कोहि डराउँदैनन्
बुँख्याचासँग !
काग गिद्ध र चीलहरुले
बुँख्याचा माथि बिष्ट्याएको
देखेको छु ।
हो,
हामीले घरालो ठानेकाहरु
देशको गोठालो मानेकाहरु
सबैजना बुँख्याचा हुन् ।
सोझा किसान हामी,
हाम्रा जमीनमा उभ्याइएका,
बुँख्याचा भनी ठड्याइएका,
सबैका एकैमतले हाम्रा जमीन बेचिसके !
आफ्नो काम फत्ते गरेपछि,
हाम्रै खेतवारी परायको
बनाउँदै
निस्कँदै छन्
एकहुल बुँख्याचाहरु !
