सन्तोष सिग्देल
’स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । ।
गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा जितबहादुर खड्काको स्मृतिमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उक्त प्रतियोगिता काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यहीफागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुदविकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ ।
विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएको छ । प्रतियोगितालाई निरन्तरता दिँदै चौथो संस्करणका रुपमा प्रतियोगितालाई समय सापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र फर्म्याट परिवर्तन गरी पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न गइरहेको शेर्पाले बताउनुभयो ।
उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधान आयोजकले तय गरेको छ । प्रवेश शुल्क रु. १२ हजार रहेको उक्त प्रतियोगितामा विजेता र उपविजेताहुने टिमले क्रमशः रु. ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउनेआयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
