सम्पर्क

सेनाले भोलीबाट मेलम्ची मुहानको ढुँगा फुटाउन सुरु गर्ने

मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुँगालाई विष्फोट गराउन नेपाली सेनाले भोलीदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुँगाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो ।
मुहान क्षेत्रमा रोडा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले अस्थायी रुपमा चैतभित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने गरी काम गर्ने जिम्मा पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइसकेको छ । विस्फोटक पदार्थसहित सेना मुहान क्षेत्रमा पुगिसकेको छ ।

भोलीदेखि विस्फोटन गरी काम सुरु गर्ने मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम भइरहेको पन्तले जानकारी दिनुभयो । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न भइसक्ने जनाएको छ ।
मुहान सफाइमा माथिल्लो तहमा गिटीबालुवा मात्र भेटिए पनि तल्लो तहमा ठूल्ठूला ढुँगा भेटिएपछि विस्फोटन नै गर्नुपर्ने भएको हो । गत असार एक गतेको बाढीपहिरोले क्षति पुर्याएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ ।
बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्व ८८ करोड रुपियाँको नोक्सान भएको समितिले जनाएको छ । हालसम्म करिव ३५ अर्ब लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षणस्वरुप वितरण गरेको थियो ।