नेत्रबहादुर बस्नेत


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा जनताको सुख दुःखमा साथ दिने नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
विहिवार मेलम्ची बजारमा स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीले जनता आक्रान्त भएको बेला आफू बिरामी हुँदासमेत रातदिन खटिरहेको बताउनुभयो ।
उहाँले मास्क, सिटामोल तथा अन्य केही स्वास्थ्य सामग्री वितरण गर्नुभयो । बस्नेतले भन्नुभयो ‘म गोडामा लागेको चोटका कारण अप्रेसन गरेर यस्तो अवस्थामा भएको तपाइहरु सबैले देख्नुभएकै छ तथापि मेरो ब्यक्तिगत चोटभन्दा यहाँका लाखौं जनताको स्वास्थ्य महत्वपूर्ण कुरा हो, यस्तो आपतको बखतमा सहयोग गर्नु मानवीय कर्म त हुँदै हो कांग्रेस सदैव जनताकै पक्षमा रहेको प्रमाणित गर्नु पनि हो ।‘
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु विष्णुविक्रम थापा, भोला बोहोरा, जँगबहादुर लामा, सुनकोशी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी, जिल्ला कोषाध्यक्ष पासाङ दोङ, नेपाली कांग्रेस वागमती प्रदेश सदस्य कुमार दुलाल, मेलम्ची नगर सभापति वसन्त गुरुङ , नगर सचिव निश्चल गिरी लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बस्नेतले पत्रकार सम केसीलाई आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी रोगले थलिनुभएका पत्रकार केसीलाई बस्नेतले ५३ हजार सहयोग गर्नुभएको हो । केसी लामो समयदेखी दमले थलिनुभएको थियो । उहाँलाई पछिल्लो समय फोक्सोको समेत समस्या देखिएको हो । बस्नेतले ठोकर्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना समेत गर्नुभएको छ ।
नेता बस्नेतको विशेष पहलमा दैनिक ४३ सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।
सिन्धुपाल्चोक जिल्लाका सर्वसाधारणलाई उपचारमा राहत दिने उदेश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको नेता बस्नेतले बताउनुभएको छ । उनले सिन्धुपाल्चोकका जनतालाई उपचारका क्रममा अक्सिजन पाएन भनेर मृत्यु हुने अवस्था नआओस् भनेर अक्सिजन प्लान्ट स्थापना गरिएको बताउनुभयो । सो अक्सिजन प्लान्टले दैनिक ४३ सिलिण्डर अक्सिजन उत्पादन क्षमता राख्छ । अस्पताललाई प्रयोग भएर बचेको अक्सिजन सिलिण्डरमा जिल्लाकै अन्य अस्पतालहरूमा पनि पठाइने नेता बस्नेतले बताउनुभयो ।
हुन त नेता बस्नेतले कोरोना महामारी होस् वा प्राकृतिक विपत्तीका बेला सिन्धुपाल्चोकमा आफै खटिएर सहयोग गर्दै आउनुभएको छ । उहाँले स्वास्थ्य सामग्रीदेखि खाद्यान्न वितरण, आर्थिक सहयोगलगायतका सहायता गर्दै आउनुभएको छ ।
नेता बस्नेतको पहलमा सिन्धुपाल्चोकको थुप्रै विद्यार्थीले काठमाडौंमा निःशुल्क अध्ययन गर्दै आएका छन् । उहाँले ऐम्बुलेन्स चालकहरू, स्वास्थ्यकर्मीलगायतको स्वास्थ्य बीमा पनि गरिदिनुभएको थियो ।
