सम्पर्क

चौताराको डडुवामा सिन्के धुप बनाउने तालिम सम्पन्न


चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा १५ दिने सिन्के धुप बनाउने तालिम सम्पन्न भएको छ । बज्रयोगीनी अपाँग मैत्री सहकारी सँस्था लिमिटेडको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिमको आयोजना गरिएको हो ।

सोमबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण सहित घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रामशरण गौतमले तालिमको समापन गर्नुभएको हो । तालिम समापन कार्यक्रममा मन्तब्य राख्दै घरेलुका कार्यालय प्रमुख रामशरण गौतमले सिप सिक्नु मात्रै ठुलो कुरा नभएको बताउँदै यसलाई ब्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिनुभयो । गौतमले कार्यक्रमा अतिथिहरुको स्वागतमा बाजा वजाउनेहरुका लागी नयाँ प्रविधिको बाजा किन्नका लागी सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
समापन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । विशेष अतिथी श्रेष्ठले डडुवाबासीको जिविकोपार्जनमा यस्ता तालिमहरुले प्रभावकारी भुमिका खेलेको बताउँदै वडाको हरेक कार्यक्रममा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका अधिकृत विश्वनाथ काफ्ले, मुख्य शिक्षक प्रविन कुमार बस्नेत लगायतले बोल्नुभएको थियो । सँस्थाका अध्यक्ष चतुरबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन भने ब्यवस्थापक नेत्रबहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रमकै अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग नगर अपाँग समन्वय समितिको आयोजना र बज्रयोगीनी अपाँग मैत्री सहकारी सँस्था लिमिटेडको समन्वयमा अपाँगता भएका सात परिवारलाई जिविकोपार्जनका लागी बाख्रा समेत वितरण गरिएको छ । बाख्रा पाउनेहरुमा दिल बहादुर गेलाल, ज्यानीमाया श्रेष्ठ, सगुन बस्नेत, रामहरी बस्नेत, टिकाराम माझी, तिलकुमारी नेपाल र सुकुमान माझी रहनुभएको छ ।