
बार्हविसे नगरपालिका वडा नम्बर ९ राम्चेमा एक महिने गलैँचा बुन्ने तालिम सम्पन्न भएको छ । नेत्रज्योति कृषी सहकारी सँस्था लिमिटेडको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिमको आयोजना गरिएको हो । सोमबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण सहित घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रामशरण गौतमले तालिमको समापन गर्नुभएको हो ।
कार्यक्रमा बोल्दै घरेलुका कार्यालय प्रमुख गौतमले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदै आएको र तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । गौतमले तालिममा सहभागीहरुलाई कार्यालयको तर्फबाट गलैचा तान सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यक्रममा बार्हविसे नगरपालिका वडा नम्बर ९ को वडा सदस्य डम्बर बहादुर कार्की, कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका मुख्य शिक्षक प्रविन कुमार बस्नेत लगायतले मन्तब्य राख्नुभएको थियो ।
नेत्रज्योति कृषी सहकारी सँस्था लिमिटेडको अध्यक्ष बाबुराम बस्नेतको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन भने ब्यवस्थापक नेत्रबहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रमा स्वागत मन्तब्य तालिमको प्रशिक्षक पार्वती थामीले राख्नुभएको थियो ।
घर गृहस्थीमा मात्रै समय विताउँदै आएका महिलाहरु तालिममा सहभागी भएपछि बचेको समयमा राम्रो आय आर्जन गर्न सक्नेमा विश्वस्त हुन थालिसकेक छन् । उनीहरुको आत्म विश्वास बढेको छ । महिलाहरुले सादा र बुट्टेदार दुवैखाले गलैचा बनाउन सिकिसकेका छन भने कतिपयले अर्डर लिएर पनि गलैचा बनाउन शुरु गरिसकेका छन् । साथीहरुले मिलेर काम गरौं भनेको खण्डमा मिलेर काम गर्ने सोच तालिममा सहभागी कविता थामीको छ । ‘दुःखमा काम लाग्ने जस्तो लागेको छ । साथीहरुले मिलेर काम गरौं भनेको खण्डमा मिलेर काम गर्ने नभए एक्लै पनि गर्न सक्छु भन्ने आँट आएको छ,’ उहाँले भन्नुभयो । सरिताकुमारी सार्कीको केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ । दलित समुदायकी महिला भएपनि सीप सिकेपछि उनको आत्मविश्वास बढेको हो ।
गाउँमै सञ्चालन भएको एक महिने गलैचा बुन्ने तालिममा सहभागी भएपछि अप्सरा थामीलार्ई अब जीवन गुजारा गर्नका लागि श्रीमानको भर पर्नु पर्दैन भन्ने लाग्न थालेको छ । ‘तालिममा सहभागी हुने निर्णय गरेर राम्रो गरे जस्तो लाग्छ । शुरुमा गाह्रो लागेपनि अहिले सजिलै लागिरहेको छ,’ उहाँ भन्नुहुन्छ, ‘एक महिने कोर्ष पूरा गरेपछि अर्डर लिएर गलैचा बुनेर आम्दानी लिने सोच उहाँको छ । ‘
तालिमा सहभागी विपना तामाङ सीप सिकेपछि दंग हुनुहुन्छ । उहाँलाई गलैचा बुन्ने सीप भएपछि परिवारसँग बसेर, घर परिवारलाई समय दिएर पनि महिनामा ९÷१० हजार सजिलै कमाउन सकिन्छ भन्ने लागेको छ । ‘श्रीमानले मात्रै कमाएर भएन, आफूले पनि केहि गर्नुपर्छ भन्ने लाग्यो,’ उहाँले भन्नुभयो , ‘सिकेको सीप दुःख पाएर जहाँ गएपनि सँगै जान्छ । जरुरत परेको समयमा दुईचार पैसा कमाउन सकिन्छ ।’
