सिन्धुपाल्चोकमा आईतबारबाट ई –पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्न सुरु गरिएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आईतबारबाट ई –पासपोर्ट वितरण थालेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्य सिता रघुलाई ई–पासपोर्ट वितरण गर्नुभएको हो । अनलाईन फारम भरेको बढिमा १५ दिनमा ई–पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । ई–पासपोर्ट बनिसकेका ब्यक्तिको मोवाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्ने छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा हरिराम न्यौपानेका अनुसार सिन्धुपाल्चोकमा अनलाइनबाट आवेदन भरेका ३४ जनाको ई–पासपोर्ट बनिसकेको छ । उहाँका अनुसार माघ ९ गतेबाट सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पास पोर्टका लागि फारम भर्न सकिने ब्यवस्था गरीएको थियो । अहिलेसम्म दुई सय जनाले अनलाइनबाट फारम भरेको उहाँले जानकारी दिनुभयो ।
अनलाइनबाट भरिने ई–पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ । मोबाइलबाट पनि फारम भर्न मिल्छ । नागरिकता र फोटो ४ सय केजीसम्मको अपलोड हुने गर्दछ । सरकारले काठमाडौंस्थित राहदानी विभागबाट १ मंसिरदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।
