ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले ४० वर्षअघि संकलन गरेको मौलिक लोकगीत गाएर सार्वजनिक गर्नुभएको छ । पाँच दशकदेखि लोक र लोकदोहोरी गीत गाउँदै आउनुभएका लामाले दुई दशक लामो अन्तरालपछि महाभारत लेकको जंगलमा याला बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गर्नुभएको हो ।पछिल्लो समय विभिन्न फिल्ममा अभिनय गरी सो क्षेत्रबाट समेत लोकप्रियता कमाउँदै आउनुभएका गायक लामाकै शब्द र संगीत रहेको लोक गीत उहाँका साथमा दीपा लामाले गाउनुभएको छ । जयनन्द र दीपालाई समूह गायनमा यो गीतमा बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले साथ दिनुभएको छ । सार्वजनिक लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ ।
‘यो मैले ३०÷४० वर्षअघि नै संकलन गरेको गीत हुँ, जो पहाडी र हिमाली श्रृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जानकारी दिँदै गायक लामाले भन्नुभयो ‘यो कुनै जातजाति विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो । जो भावी पुस्ताले पनि नाच्दै गाउनेछन् । लगानीकर्ताको अभावमा त्यतिखेर संकलन गरेको गीत अहिले आएर पार्टनर खोजेर र आफैंले पनि लगानी गरेर गाएको हुँ । यसरी संकलन गरेका विभिन्न भेकका मौलिक र परम्परागत गीत मसँग अरू पनि छन्, जो दैनिक रेकर्ड गरेर पनि बाँचुञ्जेल गाएर सकिन्नँ ।’
छमछम नाच्न मिल्ने गीतमाथि आकर्षक भिडियो पनि तयार पारिएको छ । ल्होसारको अवसर पारेर तयार पारिएको म्युजिक भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ । इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोल्मा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याम माया गुरुङ, सकु तामाङ र कोरस कलाकारले नृत्य गरेका छन् । सेवा फिल्मस्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन् ।
सिन्धुपाल्चोक बार्हविसेमा जन्मिनुभएका लामाले पाँच दशकअघि गायन यात्रा शुरू गर्नुभएको हो । लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाउनुभएको छ । लामाले संगीत क्षेत्रमा देखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशकयता गीत गाउन छोड्नुभएको हो । सिन्धुपाल्चोकका ६६ वर्षे लामाले फिल्म निर्माण, निर्देशन र अभिनय पनि गर्दै आउनुभएको छ । लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बांगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईंचुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।
