सम्पर्क

व्यापारमा चीनको असहयोगः दैनिक दुई सय ट्रक आउने नाकाबाट अहिले मुस्किलले २० वटा मात्र आउँछन्

लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन् ।
चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे । कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन् । दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन् ।
चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन् । आयात हुने सामानमा पनि जलविद्युतका सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन् । जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ ।
चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ अड्किएको हिमालयन सीमापार वाणिज्य संघले जनाएको छ । ‘चीनले एक प्रकारको अघोषित नाकाबन्दी नै गरेको छ,’ संघका महासचिव भरत कार्कीले भन्नुभयो , ‘पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन ।’ संघका अनुसार तातोपानी र केरुङतर्फ करिब पाँच सय गाडी रोकिएका छन् । सुरुमा चिनियाँ पक्षले कोभिडको कारण कडाइ गरेको बताए पनि कोभिड कम हुँदा पनि गाडीको संख्या बढाएन ।
केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको पुलमा झार्ने गरेको छ । त्यहाँबाट नेपाली कामदारले लोड गरी ल्याउँछन् । कोभिडको कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट छ । तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ ।
नेपालीका समस्यामा चिनियाँ पक्ष गैरजिम्मेवार बनेको व्यापारीको आरोप छ । परराष्ट्र मन्त्रालयमा तीनचारपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको व्यवसायीले गुनासो गरे ।
कूटनीतिक पहल नपुगेको हिमालयन सीमापार वाणिज्य संघका पूर्वमहासचिव नवराज तिमल्सिनाले बताउनुभयो । ‘तीनचार महिनादेखि सामान रोकिएका छन्,’ उहाँले भन्नुभयो, ‘सरकारले कूटनीतिक पहल गर्न सकेन ।’

नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ । तातोपानी र केरुङबाट सामान आयात गर्दा १८–२० दिनमै आइपुग्छ । भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०–४२ दिन लाग्छ । तातोपानी र केरुङ हुँदै सामान आयात गर्न आधा समय कम लाग्ने भएकाले व्यापारीले यतैबाट ल्याउन चाहान्छन् । तर चिनियाँ पक्षले नेपाली व्यवसायीको मागलाई बेवास्ता गरेको छ ।
नेपालमा चीनबाट वार्षिक खर्बौं रुपैयाँको सामान आयात हुन्छ । भन्सार विभागको आर्थिक वर्ष ०७७÷७८ को तथ्यांकअनुसार दुई खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको सामान चीनबाट आयात भएको छ । भारत हुँदै ल्याउँदा पानीजहाजको भाडा केही महंगिएको कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न चाहन्छन् ।
कोभिड सुरु भएदेखि कडाइ भएको केरुङ र तातोपानी नाकाको अवस्था अहिले पनि उस्तै छ । नेपाली व्यवसायी र सरकारले नाकाबाट आयात हुने गाडीको संख्या बढाउन पटकपटक आग्रह गरे पनि चिनियाँ पक्षले सुनुवाइ नगर्दा नेपाली व्यवसायी मर्कामा परेका हुन् । निकै थोरै कोटा तोकेर सामान पठाएकाले महिनौंदेखि नेपाली व्यवसायीका सामान सीमा क्षेत्रमा रोकिएको व्यवसायीको गुनासो छ ।
व्यवसायीले गाडीको कोटा बढाउन माग गरे पनि सरकारले ठोस पहल गर्न सकेको छैन । व्यवसायीका गुनासोबारे उपल्लो निकायमा जानकारी गराएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली बताउँनुहुन्छ । ‘उपल्लो निकायबाट पहल भएको सुन्छौं,’ मैनालीले भन्नुभयो, ‘तर परिणाम आएको छैन ।’ विगतमा भन्सार प्रमुखहरूले चिनियाँ समकक्षीसँग छलफल गर्ने गरेकोमा अहिले त्यो पनि रोकिएको छ । ‘अहिले चिनियाँ समकक्षीसँग छलफल पनि हुँदैन,’ उहाँले भन्नुभयो ।
कोभिड सुरु भएपछि रोकिएको आयात बीचमा कोभिड संक्रमण घट्दा पनि बढेन । दैनिक सय बढी गाडी आउने नाकाबाट १०÷११ वटा मात्र गाडी आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री कूटनीतिक पहल बढाउनुपर्ने बताउँनुहुन्छ । ‘व्यवसायी गुनासा लिएर आउँछन्,’ खत्रीले भन्नुभयो । ‘हामीले गर्न सक्ने केही छैन । सरकारले कूटनीतिक पहल बढाउनुपर्छ ।’

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले व्यवसायीका गुनासालाई सम्बन्धित निकायमा पु¥याउने काम भैरहेको बताउनुभयो । ‘धेरै गाडी छुटाउनका लागि कूटनीतिक पहल गर्दै आएका छौं,’ लम्सालले भन्नुभयो । ‘राजदूतलाई पनि यो विषय जानकारी गराएका छौं ।’ चीनमा रहेका नेपाली दूतावास, महावाणिज्य दूतमार्फत पनि समस्याबारे जानकारी गराएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कूटनीतिक पहल भएको बताउँदै आए पनि ढुवानी भने सहज बनेको छैन ।