सम्पर्क

हिउँले बन्द भएको तातोपानी नाका खुल्यो

हिमपातका कारण एक सातादेखी तिब्बतको खासा र न्यालम क्षेत्रमा रोकिएका मालबाहक कन्टेनर तातोपानी नाका भित्रिन थालेका छन् । अहिले खासा क्षेत्रबाट दैनिक १० कन्टेनर नाका भित्रिँदै आएका छन् । हिमपातका कारण खासा, सिगात्सेमा १ सय ८३ टेलर रोकिएका थिए ।
खासाबाट अहिले दैनिक १० कन्टेनर भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार खासा क्षेत्रमा थुप्रिएको हिउँ चीनियाँ सरकारले पन्छाएर मालबाहक कन्टेनर पठाउन थालेको र केही दिनमा उक्त सँख्या बढ्नेछ । अहिले नियमित रुपमा राजस्व सँकलन हुन थालेको छ ।
खासा क्षेत्रका सडकमा चार फिट भन्दा माथि हिउँ जमेका कारण १ सय २० सीबीएससम्म लोड बोकेका टेलर न्यालम र खासामा रोकिएका थिए । हिमपातका कारण दुर्घटना हुन सक्ने भन्दै चीनले कन्टेनर पठाउन रोक लगाएको थियो । हिउँले आधा भाग छोपिएका कन्टेनरहरुमा आएका स्याउ र खाद्यवस्तु कुहिएको उक्त नाकामा व्यापार गर्दे आएका बलेफी गाउँपालिका–८ का व्यापारी रमेशकुमार श्रेष्ठले दुःखेसो व्यक्त गर्नुभयो ।
चीनको न्यालम, बिम्बु क्षेत्रका सडकमा अहिले पनि हिउँ परिरहेको र त्यहाँ रोकिएका कन्टेनर ल्याउन अझै सकिएको छैन । हिउँ पन्छाएर भए पनि ती कन्टेनरहरु तातोपानी नाका ल्याउन चिनियाँ सरकारसँग नेपाली व्यापारीहरुले आग्रह गरेका छन् ।