सम्पर्क

हेलम्बुको रातोपुलमा बेलिब्रिज निर्माणकार्य सम्पन्न

मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोड्ने रातोपुलको बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको छ ।
बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालको रूपमा रेहेको अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँको लागतमा बेलिब्रिजको निर्माणकार्य नेपाली सेनाले जिम्मा लिएको थियो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउनुमा बेलिब्रिजले महत्व राख्दछ, बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गर्नुभयो । बाढीपछि हेलम्बु पुरानै अवस्थामा फर्कन नसके पनि सडक सञ्जाल जोड्दै पर्यटकलाई सहज बनाउने काममा सुरुदेखि नै लागिपरेको अध्यक्ष शेर्पाको भनाई छ ।
बेलिब्रिज पुनर्निर्माणमा नेपाली सेनाका प्रविधिकसहितको टोली खटिएको थियो । पुलको निर्माणकार्य एक महिनाभित्र सम्पन्न गर्ने योजनाअनुरुप सेनाद्वारा रातारात काम गरिएको थियो । एक महिनामा सकाउने योजना भए तापनि काममा केही कठिनाइ भएकाले अलि दिन ढिला भएको सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिनुभयो । पुलको बनावट अहिले निकै सरल अनि मजबुद देखिएको बताउदै थापाले पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो ।” अब यातायात आवातजावतमा सकस भएका सडकको सम्पर्क पुनः सहज ढंगले जोडिने थापाले बताउनुभयो ।
पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने भएको छ ।