सम्पर्क

एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो बुद्व मुर्तीको भोटेनाम्लाङमा शिलान्यास

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नंम्बर – ७ , भोटेनाम्लाङमा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो (८० फिट उचाईको ) बुद्व मुर्ती शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

५ करोडको लागतमा बन्ने उक्त मुर्तीको शिलान्यास पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । ढुङगामा छिनो र हम्मरले हानेर बुद्व मुर्तीको शिलान्यास गरिएको थियो ।

दुई बर्ष भित्रमा मुर्तीको निर्माणकार्य सकिने गाउँपालिकाले जनाएको छ । आन्तरिक र बाह्य पर्यटक भित्राएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको रहेको छ । मुर्ती निर्माण लगायत वरिपरिको संरचना निर्माणको लागि १० करोड लाग्ने छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यश मुर्ती निर्माणको जिम्मा लिएको छ । मुर्तीलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र यसको लागि सबैको सहयोग चाहिने प्रतिष्ठानका कुलपती लालकाजी लामाले बताउनुभयो । मुर्तिकारहरु उदयपुरका रामचन्द्र पण्डीत, सँखुवासभाका चन्द्रमणी मगर , काठमाडौंका नुर्वु लामा र बाग्लुङका निजय खत्रिले बुद्ध मुर्तीको निर्माण गर्नुहुनेछ ।

सिलान्यास कार्यक्रममा बोल्दै पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य शेर बहादुर तामाङले पाँचपोखरी लाई पुग्ने सम्पत्ती यसै ठाउँबाट कमाउन सकिने बताउनुभयो । “यहाँ पर्यटन प्रबद्वन भएपछि यहाँका सामान बिक्ने छन् । नागरिक समृद्व बन्नेछन् “, तामाङले भन्नुभयो ।

ढुङगामा मुर्ती कोर्न मात्रै २ करोड लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । यश बर्ष मुर्ती कुंद्नको लागी गाउँपालिकाले ५२ लाख बजेट बिनियोजन गरेको लामाले बताउनुभयो ।

“बुद्ध मुर्तीले गाउँपालिका मात्र नभई सिङगो नेपालकै प्रतिष्ठा बढाउने छ“, लामाले भन्नुभयो । ८० फिटको बुद्व मुर्ती वरिपरि कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा वरिपरि सानासाना मुर्ती रहने लामाले जानकारी दिनुभयो । बुद्ध मुर्ती हेर्न आउने ब्यक्ती छुट्टै संसारमा पुगेको अनुभुती गराउने लक्ष्य रहेको समेत लामाले बताउनुभयो ।
यश बुद्व मुर्तीको निर्माणले बिश्वमा शान्तीको सन्देश जाने धर्म गुरु खेम्पो निमा ढिन्डुपले बताउनुभयो । “यहाँ बन्ने बुद्व मुर्तीले विश्वमा शान्ती छाओस भन्ने कामना गरेको छु“, उहाँले भन्नुभयो ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत दिनेशकुमार पोखरेल, गुम्वा ब्यवस्थमापन समितिका सदस्य शिशिर वाईवा, नेपाल पत्रकार महासँघका अध्यक्ष जिवन श्रेष्ठ , विभिन्न राजनितिक दलका प्रतिनिधीले मन्तब्य राख्नुभएको थियो भने वडा नं. ७ का वडाअध्यक्ष सार्की तामाङले शुभकामना मन्तब्य राख्नुभएको थियो ।