सम्पर्क

बारीमा प्रतिकिलो ७ रुपैयाँमा बिक्दै डडुवाको गोलभेडा, किसान मारमा तर बिचौलिया मालामाल

चौतारा (सिन्धुपाल्चोक), मंसिर १। चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवाका व्यावसायिक तरकारी किसानहरू गोलभेडाले उचित मूल्य नपाउँदा गम्भीर चिन्तामा परेका छन्। बारीबाटै बिचौलियाले प्रतिकिलो जम्मा ७ रुपैयाँमा गोलभेडा खरिद गर्ने गरेपछि उत्पादन लागतसमेत नउठ्ने भन्दै किसानहरू मर्कामा परेका हुन्।
किसानको बारीमा प्रतिकिलो ७ रुपैयाँमा उठाइएको गोलभेडा बिचौलियामार्फत चौतारा, र काठमाडौँका बजारमा पुग्दा उपभोक्ताले निकै महँगो मूल्य तिर्नुपरेको छ। उत्पादक किसानले कौडीको भाउमा बेच्नुपर्ने र उपभोक्ताले महँगोमा किन्नुपर्ने तर बीचका व्यापारीले मनग्य नाफा कमाउने प्रवृत्तिले डडुवाका किसान आजित भएका छन्।स्थानीय कृषक खिनकुमारी बस्नेतले रातदिन पसिना बगाएर फलाएको गोलभेडाले लगानीसमेत नउठेको गुनासो गर्नुभयो। “प्रतिकिलो ७ रुपैयाँले त गोलभेडा टिप्ने ज्याला, मल, बीउ र विषादीको खर्चसमेत उठ्दैन,“ कृषक बस्नेतले दुखेसो पोख्नुभयो, “हामीले सस्तोमा दिनुपरेको छ, तर बजारमा त्यही गोलभेडा महँगोमा बेचेर बिचौलिया मालामाल भइरहेका छन्।“तरकारी खेतीका लागि पकेट क्षेत्र मानिने डडुवामा यतिबेला गोलभेडा लटरम्म फलेको छ। तर, छिटो बिग्रने कृषि उपज भएकाले लामो समय भण्डारण गरेर राख्न नसकिने र गाउँमा चिस्यान केन्द्र (कोल्ड स्टोर) नहुँदा बिचौलियाले तोकेकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन्।यता, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाअध्यक्ष उद्धव नेपालले किसानको मर्काप्रति वडा कार्यालय गम्भीर रहेको बताउनुभएको छ। किसानलाई राहत दिन स्थानीय नेत्रज्योति कृषि सहकारी संस्थामार्फत उत्पादनमा आधारित अनुदान वितरण भइरहेको जानकारी दिँदै वडाअध्यक्ष नेपालले बजारीकरणको समस्या सुल्झाउन थप पहल भइरहेको बताउनुभयो।
“हामीले नेत्रज्योति कृषि सहकारी संस्थामार्फत किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गरिरहेका छौँ,“ वडाअध्यक्ष नेपालले भन्नुभयो, “बिचौलियाको तह घटाएर किसानको उत्पादन सिधै बजारसम्म पु¥याउन र उचित मूल्य दिलाउन नगरपालिकासँग समन्वय गरी संकलन केन्द्र व्यवस्थापनको कामलाई पनि अगाडि बढाएका छौँ।“यद्यपि, बजारमा सस्तो भारतीय तरकारीको आयात र उचित मूल्य नपाउने समस्याले कृषि पेसाबाटै पलायन हुने अवस्था आएको भन्दै किसानहरूले न्यूनतम समर्थन मूल्य तोक्न र ढुवानीमा सहुलियत दिन माग गरेका छन्।किसानले उत्पादन गरेको गोलभेडाले उचित मूल्य नपाउनु र बिचौलियाले अत्यधिक नाफा कमाउनु नेपाली कृषि बजारको एक गम्भीर समस्या हो। किसानको बारीबाट उपभोक्ताको भान्छासम्म पुग्दा गोलभेडा ३ देखि ४ तहका व्यापारीको हातबाट गुज्रिन्छ। बारीमा प्रतिकेजी ७–१० रुपैयाँमा उठाइएको गोलभेडा काठमाडौँ वा स्थानीय बजारमा पुग्दा ६० देखि १०० रुपैयाँसम्म पुग्ने गरेको छ।भण्डारण र चिस्यान केन्द्रको अभाव। गोलभेडा छिटो बिग्रने कृषि उपज भएकाले किसानसँग लामो समय राखेर बेच्ने विकल्प हुँदैन। यही बाध्यताको फाइदा उठाउँदै बिचौलियाले सस्तो मूल्यमा खरिद गर्छन्। कालीमाटी तथा अन्य मुख्य बजारको दैनिक थोक मूल्यबारे किसानलाई तत्काल जानकारी नहुँदा पनी व्यापारीले तोकेको मूल्यमै बेच्नुपर्ने बाध्यता रहेको छ। मुख्य सिजनमै सस्तो मूल्यमा भारतीय गोलभेडा भित्रिँदा स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन र मूल्य घट्ने गरेको छ ।