नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ का क्षेत्रीय सभापति आइतमान तामाङले पार्टीको १५औँ महाधिवेशनलाई गुट–उपगुटभन्दा माथि उठेर सक्षम, जिम्मेवार र इमानदार नेतृत्व चयन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा पार्टीलाई थप सशक्त, जिम्मेवार र गतिशील बनाउन वडा तहदेखि नै योग्य नेतृत्व चयन गर्नुपर्ने उहाँको भनाइ छ। मुलुक संकटपूर्ण अवस्थामा रहेका बेला लोकतान्त्रिक पार्टी गुट–उपगुटको जञ्जालमा फस्न नहुनेमा उहाँले जोड दिनुभएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै तामाङले पार्टीलाई वर्तमान अवस्थासम्म ल्याउन अग्रज तथा समकालीन नेता–कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ। विगतमा कमजोर अवस्थाबाट स्थानीय तह, प्रदेश तथा संघमा सम्मानजनक मत प्राप्त गर्ने अवस्थामा पार्टी पुग्नुमा कार्यकर्ताको मेहनत र समर्पण मुख्य कारण रहेको उहाँले बताउनुभएको छ।
अब पार्टीलाई अझ सशक्त र जुझारु बनाउने जिम्मेवारी क्रियाशील सदस्यहरूको हातमा आएको भन्दै उहाँले वडा तहदेखि नै जिम्मेवार, कर्तव्यनिष्ठ र इमानदार कार्यकर्तालाई नेतृत्वमा पु¥याउन आग्रह गर्नुभएको छ। गुट निर्माण गरेर नभई सक्षम र इमानदार कार्यकर्तालाई नेतृत्वमा ल्याएर मात्र पार्टी सुदृढ बन्न सक्ने उहाँको भनाइ छ।
तामाङले सकेसम्म सर्वसम्मत र त्यसो हुन नसके पार्टी विधानअनुसार लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभएको छ। विगतमा नेतृत्वमा पुगेका कतिपय व्यक्ति निष्क्रिय रहने, विदेश पलायन हुने तथा संगठन निर्माणमा पर्याप्त ध्यान नदिने अवस्था देखिएको उल्लेख गर्दै उहाँले यसपटकको अधिवेशनबाट पार्टीलाई सक्रिय र सशक्त बनाउन सक्ने व्यक्तिलाई नेतृत्वमा पुग्ने अवसर दिनुपर्ने बताउनुभएको छ।
यसैबीच, अध्यावधिक गरेका तर क्रियाशील सदस्यता शुल्क बुझाउन बाँकी सदस्यलाई क्यूआरमार्फत तथा अन्य सदस्यलाई नगद वा बैंक भौचरमार्फत सदस्यता शुल्क बुझाउन पनि क्षेत्रीय सभापति तामाङले आग्रह गर्नुभएको छ। सदस्यता शुल्क संकलनमा वडा तथा पालिका कार्यसमितिले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न उहाँले अनुरोध गर्नुभएको छ।
