सम्पर्क

बलेफी–४ का बाढीपीडित परिवारलाई आर्थिक सहयोग

बलेफी गाउँपालिका–४ का सभापतिको पहलमा रसुवा बाढीका कारण ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ । पीडित परिवारको दुःखमा केही राहत पुगोस् भन्ने उद्देश्यले सभापतिको प्रतिनिधित्वमा साथीभाइ तथा विदेशमा रहेका सहयोगीहरूबाट रकम संकलन गरी पीडित परिवारलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो । संकलित रकमबाट पहिलो चरणमा बिहिबार चार परिवारलाई प्रति परिवार रु. १७ हजार का दरले आर्थिक सहयोग गरिएको जनाइएको छ ।
सहयोग प्राप्त गर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका –४ टारी निवासी स्व. मानबहादुर तामाङकी श्रीमती चिनिमाया तामाङ, टारी निवासी अविवाहित अवस्थामा निधन भएका स्व. रबिन तामाङका दाजु राजन तामाङ, यसैगरी कोले निवासी स्व. सिंहबहादुर तामाङकी श्रीमती रितिका तामाङ तथा गहते निवासी स्व.सन्तोष तामाङकी श्रीमती सरिना तामाङ रहेका छन् । प्रत्येक परिवारलाई रु. १७ हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
बाँकी रहेका दुई पीडित परिवारलाई र घाईते १ परिवारलाई पनि केही दिनभित्रै घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिने बताइएको छ । सहयोग अभियानमा स्वदेश तथा विदेशमा रहेका साथीभाइबाट रकम संकलन गरिएको र विपद्को समयमा पीडित परिवारलाई आफ्नो क्षमताअनुसार साथ दिने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ ।