
१० बुँदे प्रतिबद्धता जारी गर्दै जुगलले मनायो लैंगिक हिंसा विरुद्धको अभियान जुगल गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान १० बुदे प्रतिबद्धता जारी गर्दै भब्य रुपमा सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समितिको उपप्रमुख श्री बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गरिएको प्रतिबद्धता पत्रमा महिला विरुद्धको हिंसा अन्त्य गर्नको लागि घरैदेखि सुरु गर्दछौँ , लैङ्गिक हिंसा विरुद्धको सबै खालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना गर्दछौँ , महिलाको मानव अधिकार संरक्षण गर्न एकतावद्ध भएर लाग्दछौँ , सार्वजनिक वा निजी जीवनमा रहँदा लैङ्गिक आधारमा कसैप्रति शारीरिक, मानसिक, सामाजिक–साँस्कृतिक, राजनीतिक,आर्थिक, यौनिक , भावानात्मक पीडा वा क्षति पुर्याउने कार्य गर्दैनौँ जस्ता कुराहरु समेटिएको छ । त्यसैगरी प्रतिबद्धता पत्रमा लैङ्गिक हिंसा विरुद्ध सदैव बुलन्द आवाज लियर उभिन्छौँँ , लैङ्गिक हिंसामा परेको पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्दै विशेष सुरक्षा र संरक्षणको प्रत्याभूति दिलाउँदछौँ , लैङ्गिक हिंसाजन्य कार्यहरु गर्ने दोषीलाई कानूनी सजायको भागिदार बनाउन प्रतिवद्ध र क्रियाशिल हन्छौँ , लैङ्गिक हिंसा उन्मूलनको लागि शिक्षा लिन र दिन तथा चेतना जगाउन प्रतिवद्ध छौँ जस्ता कुराहरु समेत समेटिएको छ । गाउँपालिका उपाध्यक्ष सृजना तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर वि.क. , ईलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक हरि भट्टराई, कार्यपालिका सदस्य तथा विभिन्न सरोकारवाला निकायहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
