लिंसखुपाखर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ । मंगलबार र बुधबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या बिषयमा चर्चा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सागर खडकाले बताउनुभयो । समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले स्थानीय तहले जिल्ला, प्रदेश र संघिय सरकारसंग समन्वयमा काम गर्न सके सहज हुने बताउनुभयो । उहाँले पालिकाको स्वास्थ्य क्षेत्रको कार्य राम्रो हुँदै गएको बताउदै प्राबिधिक लगायत सहयोग गर्न तत्पर रहेको बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले सिमित श्रोत, साधनका बिच कार्य गर्न गार्हो भएपनि पालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।उहाँले उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम लगायतलाई निरन्तरता दिएको बताउदै पालिकाको जनसंख्या घट्दै गएको भन्दै त्यसलाई ध्यानदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका लेखापाल कपिल बिष्ट लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
