सम्पर्क

तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढीआयो सतर्कता अपनाउँन अनुरोध

चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रम जोखिम बढेको बताएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले “बाढी मुङ्लिनसम्म पुग्न सक्ने भएकाले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक छ । विशेषगरी पृथ्वी राजमार्गलगायत नदी तटीय क्षेत्रमा पर्ने सडकमा आवतजावत बन्द गर्न आवश्यक छ,” भन्नुभयो । बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ९ः१५ बजे तिब्बततर्फबाट आएको ठूलो बाढी भोटेकोसीमा प्रवेश गरेको हो । यस सँगै बाढीको प्रभाव त्रिशूली नदीमा समेत पर्न सक्ने भएकाले मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकोहो ।यसैबीच, रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी आएलगत्तै नेपाल सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा अघि बढाएको छ ।साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सार्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीको जोखिम रहेका पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न÷नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकार भएका निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।
प्रधानमन्त्री शाहको निर्देशनमा उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको राससले जनाएको छ । साथै निजी कम्पनीका हेलिकप्टरलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ । साथै प्रधानमन्त्री शाहले सोही सम्बन्धमा छलफल गर्न बिहान ११ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ ।राससका अनुसारजिल्ला प्रशासन कार्यालयले पनि रसुवा जिल्ला प्रशासन कार्यालयबाट बाढीको पूर्वसूचनासहित सतर्कता अपनाउन आह्वान भएको जनाउँदै सम्बद्ध सबैलाई सचेत रहन आग्रह गरिएको छ ।राससका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिनुभयो ।