बाह्रबिसे, सिन्धुपाल्चोक । मध्यबर्खाको समय ग्रामीण क्षेत्रका किसानहरू खेतीपातीको काममा व्यस्त भएका छन्। खेतबारीमा काम गर्ने चटारोबीच पनि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का स्थानीय बासिन्दाहरु भने आफ्नो सामुदायिक वनमा लामो समयदेखिको विवाद समाधानका लागि छलफल र संवादमा जुटेका छन्। गाउँमा कुनै उत्सवजस्तै देखिने गरी महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकहरू उत्साहपूर्वक एउटै ठाउँमा भेला भएर सामुदायिक वनको द्वन्द्व समाधानको बाटो खोजिरहेका थिए।
बारबिसे नगरपालिका–३ मा रहेका महावीर छेल्टार बाहुने भिर सामुदायिक वन र लालीगुराँस सामुदायिक वन बीच लामो समयदेखि रहँदै आएको सीमा तथा वन स्रोत उपयोग सम्बन्धी विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा दुवै सामुदायिक वनका उपभोक्ता तथा सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १२० जनाको सहभागिता रहेको थियो।
संयुक्त बैठकले विवाद समाधानका लागि १० बुँदे प्रक्रिया प्रस्ताव पारित गरेको छ। बैठकमा दुवै सामुदायिक वन समूहका अध्यक्ष तथा पदाधिकारीहरूले विवादको अवस्था, विगतका अनुभव र आगामी दिनमा आपसी सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए। सहभागी उपभोक्ताहरूले पनि खुला रूपमा आफ्ना भनाइ राख्दै विगतका असमझदारीलाई संवादमार्फत अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
बैठक ‘खाट विधि’ मार्फत सञ्चालन गरिएको थियो। उक्त विधिले सहभागीहरूलाई सहज र खुला वातावरणमा आफ्ना अनुभव, गुनासा, अपेक्षा र समाधानका उपायहरू प्रस्तुत गर्ने अवसर दिएको थियो। लामो समयदेखि एकअर्काप्रति असमझदारी र दूरी बढ्दै गएको अवस्थामा एउटै ठाउँमा बसेर खुलेर छलफल गर्न पाउनु सकारात्मक कामको सुरुवात भएको सहभागीहरूले बताएका थिए। महावीर छेल्टार बाहुने भिर सामुदायिक वनका अध्यक्ष अनिष पाइनले दुवै समूहका उपभोक्ताहरू एउटै गाउँका बासिन्दा भए पनि मह तथा वनको सिमाना विवादका कारण सम्बन्धमा तिक्तता आएको उल्लेख गर्दै अब संवादको माध्यमबाट पुरानो सम्बन्ध पुनःस्थापित हुने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै, लालीगुराँस सामुदायिक वन समूहका अध्यक्ष देवबहादुर पाइनले विवादको विषयमा समयमै छलफल र संवाद हुन नसक्दा दुई समूहबीच समस्या बढ्दै गएको बताउँनु भयो । उहाँले विवादका कारण एउटै गाउँका दाजुभाइ, कुल कुटुम्ब र आफन्तबीच समेत दूरी बढेको थियो। “छलफल र संवाद नहुँदा समस्या ठूलो बन्दै गयो। हामी दाजुभाइ, कुल कुटुम्ब नै विभाजनमा गयौँ। अहिले फेरि एउटै ठाउँमा बसेर खुलेर छलफल गर्न पाएका छौँ। मनको खुल्दुलि तथा चित्तदुखाईका कुराहरु भन्ने अवसर पाएकाका छौं । अब विगतमा जस्तै सुमधुर सम्बन्ध पुनःस्थापित हुने आशा जागेको छ,” भन्नु भयो
कार्यक्रममा दुवै सामुदायिक वन समूहका पदाधिकारीहरूले हालसम्म समूहमा भएका गतिविधि तथा प्रगति विवरण र आर्थिक विवरण समेत उपभोक्ताहरूका माझ प्रस्तुत गरेका थिए। विवरण प्रस्तुत भएपछि उपभोक्ताहरूले सम्बन्धित विषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए। उपभोक्ताका तर्फबाट धारणा राख्दै दुर्गा पाइनले विगतमा पर्याप्त छलफल र संवादको अभावमा कार्यसमिति र उपभोक्ताबीचको सम्बन्ध समेत कमजोर हुँदै गएको बताउँनु भयो । उँहाले समस्या समाधान गर्नुभन्दा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने अवस्था सिर्जना भएको थियो। “विगतमा छलफल र संवाद नहुँदा कार्यसमिति र उपभोक्ताबीचको सम्बन्ध टाढिँदै गएको थियो। हामी आरोप–प्रत्यारोपमै रुमल्लिएका थियौँ। तर अहिले संवादको प्रक्रियामा आएपछि एकअर्काका कुरा बुझ्न र स्पष्ट हुन थालेका छौँ। आजको दिनबाट हामीले कसैलाई पनि आरोप–प्रत्यारोप गर्ने होइन, समस्याको समाधान खोज्ने प्रतिबद्धता गर्नुपर्छ, यो प्रकृयाको सुरुवात प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले सुरुवात गरेकोमा हामी आभार प्रकट गर्दछौं, ” भन्नु भयो ।
संयुक्त बैठकको अध्यक्षता माकुरा समूहका संयोजक शान्तवीर पाइनलगर्नू भएको थियो। बैठकको उद्देश्य, औचित्य तथा सञ्चालन प्रक्रियाका बारेमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका सहजकर्ता विदुर गिरीले सहभागीहरूलाई जानकारी गराउँनु भएको थियो। त्यसैगरी, माकुरा समूहले तयार गरेको विवाद रूपान्तरणसम्बन्धी १० बुँदे प्रक्रिया प्रस्तावमाथि सहजकर्ता टिका सुवेदीले प्रस्तुति गर्दै सहभागीहरूबाट राय, सुझाव र सहमति संकलन गरेका थिए। सहभागीहरूको सुझावलाई समेट्दै प्रक्रिया प्रस्तावलाई संयुक्त बैठकबाट पारित गरिएको थियो।
बैठकमा सहभागीहरूले सामुदायिक वनको सीमा, वन स्रोतको उपयोग, विगतमा देखिएका असमझदारी तथा आगामी दिनमा अपनाउनुपर्ने सहकार्यका विषयमा खुलेर धारणा राखेका थिए। सहभागीहरूले विवादलाई कानुनी वा प्रशासनिक प्रक्रियाबाट मात्र समाधान गर्नुभन्दा सम्बन्धित पक्षहरूबीच प्रत्यक्ष संवाद, आपसी समझदारी र सहमतिलाई प्राथमिकता दिनुपर्ने बताएका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति नेत्र धितालले प्राकृतिक स्रोतसँग जोडिएका विवादमा धेरै पक्षको प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार रहने भएकाले यस्ता विवाद समाधानका लागि बहुसरोकारवालाबीचको छलफल र संवाद महत्वपूर्ण हुने बताउँनु भयो । धितालले द्वन्द्वलाई केवल समस्या वा विवादका रूपमा हेर्नुभन्दा त्यसलाई सम्बन्ध सुधार, सहकार्य र शान्ति निर्माणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिनु भयो । बहुसरोकारवाला विवादमा सम्बन्धित पक्षहरू आफैँले छलफल र संवादमार्फत निकाल्ने निष्कर्ष नै दीगो समाधानको महत्वपूर्ण आधार बन्ने भनाइ राख्दै धितालले, “द्वन्द्व रूपान्तरणको प्रक्रियामा बाहिरबाट समाधान थोपरिनुभन्दा सम्बन्धित पक्षहरू आफैँ एउटै ठाउँमा बसेर आफ्ना कुरा राख्ने, एकअर्काको समस्या बुझ्ने र सहमतिमा पुग्ने प्रक्रिया महत्वपूर्ण हुन्छ। आपसी छलफल र संवादबाट निकालिएको निष्कर्ष नै दीगो र सबै पक्षले अपनत्व महसुस गर्ने उत्तम विधि हो। यो बिधिबाट निस्केको परीणामले सबैको जित हुनेछ ” भन्नु भयो ।
सामुदायिक वन प्राकृतिक स्रोत व्यवस्थापन सँग प्रत्यक्ष जोडिएका स्थानीय नागरीकहरुको संस्था भएकाले वनको सीमाना, स्रोत उपयोग, अधिकार तथा जिम्मेवारीका विषयमा समय–समयमा विवाद उत्पन्न हुने गरेका छन्। यस्ता विवाद समयमै सम्बोधन हुन नसक्दा समुदाय भित्रको सामाजिक सम्बन्धमा समेत असर पुग्न सक्ने भएकाले स्थानीय स्तरमै संवाद र सहकार्यको वातावरण निर्माण गर्नु आवश्यक रहेको सहभागीहरूले बताएका छन्। महावीर छेल्टार बाहुने भिर र लालीगुराँस सामुदायिक वन बीचको विवाद समाधानका लागि पारित गरिएको १० बुँदे प्रक्रिया प्रस्तावलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने र संवाद तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दुवै समूहका उपभोक्ताहरूले व्यक्त गरेका छन्।
बर्खाको खेतीपातीको व्यस्त समयलाई केही समय थाती राखेर विवाद समाधानका लागि एउटै थलोमा भेला भएका स्थानीय उपभोक्ताहरूको सहभागिता र उत्साहले सामुदायिक स्तरमा द्वन्द्व समाधान तथा शान्ति निर्माणका लागि संवादको महत्वलाई थप उजागर गरेको छ। लामो समयदेखिको असमझदारीलाई संवाद, सहमति र सहकार्यमा रूपान्तरण गर्ने प्रयासले दुवै सामुदायिक वनबीचको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले सिन्धुपाल्चोक जिल्लामा बिगत देखिनै यस्ता प्राकृतिक स्रोतमा देखिएको द्धन्दहरुमा रुपान्तरणको प्रकृयाबाट समाधान खोज्दै आइरहेको छ ।
