देवराज सुवेदी

मेलम्ची नगरपालिकाले नगरपालिकाभित्रका व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेलम्ची नगरपालिकामा सम्पन्न कार्यक्रममा कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव उमेशराज रिमालले राष्ट्रको विकासमा करको योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहायक अधिकृत रघुनाथ पराजुलीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । प्रशिक्षकद्वय रिमाल र पराजुलीले सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै कर तिर्नुको फाइदा तथा कर सम्बन्धी विभिन्न नियमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उद्यमी व्यवसायीलाई कर शिक्षा, करको दायरा, नीति, छुटको व्यवस्था, व्यवसाय कर लगायतका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले नगरपालिकाले उठाउने करका बारेमा सहभागीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । उहाँले व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर लगायतको बारेमा प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रमबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जनसंख्याको आधारमा राजस्व संकलन गर्ने उत्कृष्ट वडा कार्यालय र सचिवलाई सम्मान गरिएको छ । बढी राजश्व उठाई सम्मानित हुनेहरुमा क्रमशः वडा नम्बर १२ का सचिव कलाधर ढकाल, १ का ईश्वरी तिमल्सिना, ११ का मधुविलास देवकोटा, १० का अर्जुनबहादुर अधिकारी र वडा नम्बर २ का प्रेमलाल मल्ल रहनुभएको छ ।
त्यस्तै कार्यक्रममा सबै भन्दा पहिला कर तिर्ने, मालपोत तथा राजस्व कर सबैभन्दा बढी बुझाउने र व्यवसाय कर सबैभन्दा बढी तिर्ने व्यवसायी तथा व्यापारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । करदाताहरुलाई हौसला र जिम्मेवारीबोध गराउन सम्मान कार्यक्रम गरिएको दुलालले जानकारी दिनुभयो ।
कार्यक्रम समापन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आफ्नो व्यवसाय गरेबापतको कर तिर्न व्यवसायीहरुलाई आह्वान गर्नुभयो । नगर उपप्रमुख नेपालले राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएकाले सबै व्यापारी तथा व्यवसायीलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नुभयो ।
