सम्पर्क

हत्या अभियोगमा दुईजना पक्राउ

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९ वर्षका छेवाङ लामाको हत्या गरेको अभियोगमा प्रहरीले निजकी श्रीमती २८ वर्षीय निमा साङ्बो तामाङ र सोही स्थानका ३६ वर्षका कान्छालाल लामालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक राजन अधिाकरीका अनुसार अभियुक्तविच अनैतिक सम्बन्ध रहेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालैमात्र घर फर्कनुभएको थियो । घरमा श्रीमतीको मोबाइलमा अत्याधिक फोन आउने गरेको थाहा पाएपछि उहाँले सो फोन समेत एक दिन कब्जा गरेर सिमकार्ड फेरेर पुनः फिर्ता गरेको थाहा भएको प्रहरीले जनाएको छ । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले दुवै मिलेर योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना बारे थाहा पाउनासाथ तत्काल प्रहरी चौकी तेम्बाथान कात्तिके, इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिई गई घटनास्थलको छानविन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा अभियुक्तलाई सोही राती नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । अभियुक्तलाई थप अनुसन्धानको लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतका राखिएको छ ।