
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर २ बरुवामा बाँस निगालो प्रसोधन तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बाँस,निगालो सम्बन्धी हस्तकला सिप विकास तालिम बुधबार सुरु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भएको सो तालिममा आठ जना सहभागी छन् । वडा नं. २ बरुवाको विकट गाउँ डालेमा सञ्चालित तालिम एक महिना सञ्चालन हुने उद्यम विकास शाखा प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘आफ्नै ठाउँमा पाइने बस्तुको प्रयोग गरेर व्यापार गर्नु नै सबैभन्दा राम्रो व्यवसाय हो,’ पौडेलले भन्नुभयो,‘सधैंभरी परनिर्भर भएर बस्नाले हाम्रो गाउँको विकास हुन सक्दैन । सबैले यहीँ ठाउँको विकासका लागि लाग्नुपर्छ । त्यसका लागि यस्तै सानोसानो कुराले समेत गाउँको मुहार फेरिन्छ ।’ तालिमको उद्देश्यबारे जानकारी गराउँदै पौडेलले सिप सिकाएर आत्मनिर्भर बनाउन तथा खेर गइरहेको बाँस र निगालोको सदुपयोगगरी आयआर्जन गर्न यो तालिम संचालन गरिएको जानकारी दिनु भएको थियो ।
तालिममा बाँसको टेबल, कुर्सी, घडी,ऐनाको फ्रेम लगायतका सामग्री बनाउन सिकाइने पौडेलले जानकारी दिनुभयो । तालिमको उद्घाटन वडा सचिव सरोज सिलवालले गर्नुभएको थियो । सहभागीहरुलाई प्रशिक्षक तीर्थलाल श्रेष्ठले सहजीकरण गरिरहनुभएको छ ।
