सम्पर्क

आदिवासी जनजाति महिला उत्थान केन्दको १० औं साधारण सभा सम्पन्न


सिन्धुपाल्चोक चौतारामा अवस्थित आदिवासी जनजाति महिला उत्थान केन्दको १०औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रका अध्यक्ष पानमाया तामाङले प्रगती तथा कोषाध्यक्ष पुजा तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । केन्द्रले निड्वानसंगको सहकार्यमा प्राकृतिक सम्पदाको खोज अनुसन्धान देखि जेनेभा ग्लोबल फण्ड यु.एसको सहकार्यमा बालविवाह न्यूनिकरण सम्बन्धी किशोर किशोरीसंग सामुहिक कार्यक्रम गर्दै आएको अध्यक्ष पानमाया तामाङले बताउनुभयो । केन्द्रले टेवा सस्थाको सहकार्यमा सुरु गरेको आर्थिक आत्मनिर्भरता आयआर्जन अन्तरगत समुह निमार्ण गरि तरकारी, कुखुरा,बाख्रा पालन कार्यक्रमले महिलाहरु ब्यवसायिक बन्न पनि थालेका छन् । प्रगती प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रकी अध्यक्ष तामाङले चौतारा सांगाचोकगढि नगरपालिका भित्रको ईर्खु, स्याउले, पिपलडाँडा, ठुलोसिरुवारी,चौतारा गरी ५ वडामा ८ समुह गठन गरी दुई सय किशोरकिशोरी तथा अभिभावक संग काम गरीरहेको बताउनुभयो ।
आर्थिक वर्ष २०७७।७८ को आय ब्यय प्रस्तुत गर्दै कोषाध्यक्ष पुजा तामाङले आदिवासी जनजाति महिला उत्थान केन्द्रबाट १७ लाख ४४ हजार ९ सय ७५ रुपैया रकमबाट यो वर्ष कार्यक्रम गरीएको उल्लेख गर्नुभयो । साधारण सभाको उद्घाटन आदिवासी जनजातिहरुको संस्कृतिको संरक्षण र सम्मानमा जोड दिदै फरक ढंगले गरीएको थियो ।
साधारण सभालाई सम्बोधन गर्दै चौतारा सांगाचोगढि नगरपालिका ५ नम्बर वडाका अध्यक्ष नरमान श्रेष्ठले केन्द्रले संचालन गर्ने कार्यक्रमले अबका दिनमा महिलालाई निर्णयक क्षमता सहित राजनैतिक नेतृत्वमा जोड्न र आयआर्जनमा सुधार ल्याउने गतिविधि संचालन गर्न आग्रह गर्नुभयो । उपभोक्ता समितिमा आरक्षण कोटाको लागि महिला खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै नेतृत्वका लागि अग्रसर बन्न केन्द्रको कार्यक्रमले सहयोग पुगेको श्रेष्ठले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा बार सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङ, ग्रैह्र सरकारी सस्था महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटा , केन्द्रका सल्लाहकार दिलकुमारी श्रेष्ठ, पत्रकार महासंघ सिन्धुपाल्चोक सदस्य दिनेश दुलाल लगायतले शुभकामना मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।