सम्पर्क

जलवायुमैत्री प्रविधिमार्फत धानमा आत्मनिर्भरता अभियान, हेलम्बुमा २३औँ धान दिवस मनाइयो

 

देबराज सुबेदी “स्थानीयको अगुवाइमा अनुकूलनका असल अभ्यास प्रवद्र्धन कार्यक्रम अन्र्तगत “ जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ६ थापाटारमा सम्पन्न भएको छ ।
इच्छेश्वरी महिला बचत तथा कृषक समूहको आयोजना, हेलम्बु गाउँपालिकासँगको समन्वय,जष्ट नेपाल फाउन्डेसनको आर्थिक सहयोग तथा ली–बर्डको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रवद्र्धनमा जोड दिएका थिए ।रोपाइँ कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नं. ६ का अध्यक्ष सञ्चबहादुर तामाङले स्थानीय रैथाने बाली तथा बीउबिजनको संरक्षण र प्रवद्र्धन गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा पाइने धानका जातहरूको संरक्षण गर्दै उत्पादन वृद्धि र कृषकको आयआर्जन बढाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।उहाँले रैथाने बीउबिजनको संरक्षणसँगै अन्य उन्नत जातका धानलाई पनि प्रवद्र्धन गर्न, कृषि क्षेत्रलाई थप व्यवसायिक र आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो । जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न स्थानीय अनुकूल प्रविधिको प्रयोग अपरिहार्य रहेको अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रमका आयोजकका अनुसार यस वर्ष हेलम्बुका ६ वटा स्थानीय तथा बाहिरबाट ल्याइएका ८ वटा गरी जम्मा १४ थरीका धानका जात रोपिएका छन् । ती धानका जातको उत्पादन, परीक्षण र विस्तार गरी आगामी दिनमा स्थानीय कृषकहरूलाई वितरण गर्ने योजना रहेको जनाइएको छ ।कार्यक्रममा इच्छेश्वरी महिला बचत तथा कृषक समूहकी अध्यक्ष राधिका दंगालले कृषकको हितका लागि कृषि बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कृषि पेशालाई बाध्यता नभई रहर र सम्मानको पेशाका रूपमा अंगाल्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताउनुभयो ।रोपाइँ महोत्सवका क्रममा पञ्चेबाजासँगै पछिल्लो समय लोप हुँदै गएको बेठी संस्कृतिलाई पनि किसानमाझ पुनः प्रस्तुत गरिएको थियो ।यद्यपि, विगतमा यही खेतका गरामा यस समयमा चैते धानका बाला झुल्नुपर्ने भए पनि २०७८ सालको विनाशकारी बाढीले मेलम्ची खोलाबाट ल्याइएको सिँचाइ कुलोलाई नराम्ररी क्षति पु¥याएपछि अवस्था फेरिएको छ । कुलो नष्ट भएपछि हिउँदे सिँचाइ प्रभावित बनेको छ र आकाशे पानीको भरमा मात्रै रोपाइँ गर्नुपर्ने बाध्यता किसानमा रहेको छ ।बाढीबाट प्रभावित उक्त सिँचाइ प्रणालीका करिब ६२ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सिँचाइ अभावका कारण उत्पादन घट्दै जाँदा धेरै परिवार खाद्य संकटको सामना गर्न बाध्य बनेका छन् । नियमित सिँचाइको व्यवस्था गर्नु अहिले मुख्य चुनौती बनेको भन्दै किसानहरूले आफ्नो समस्या र आवाज सम्बन्धित निकायसम्म पुग्नुपर्ने माग गरेका छन् ।धान दिवसको अवसरमा सहभागीहरूले बाजागाजासहित परम्परागत शैलीमा हिलो खेल्दै सामूहिक रोपाइँ गरेका थिए । असारे संस्कृति, कृषि परम्परा र सामुदायिक एकताको झल्को दिने गरी मनाइएको धान दिवसले कृषि संरक्षण र धान उत्पादनमा आत्मनिर्भर बन्ने अभियानलाई थप उत्साह प्रदान गरेको थियो । कार्यक्रममा सहभागी कृषकहरूले स्थानीय बीउ संरक्षण, जलवायुमैत्री खेती प्रणाली र कृषि उत्पादन वृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।