
टिका खड्का
मायाँमा नै हारें मैले जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो ।
सबै टाढा हुँदा रैछन् दुःखै दुःख पर्दाखेरि
सुख हुँदा नजिक आउने मीतको बयान नगर भो ।
ठूलै वर्षा हुनुपर्छ हरियाली छाउन यहाँ
झुल्कै घाममै सुकी जाने शीतको बयान नगर भो ।
मानव भन्नु सबै उस्तै छैन फरक रतिभर
मान्छे मान्छे फरक ठान्ने रीतको बयान नगर भो ।
मिठो लाग्छ छङ्छङ् गर्ने छहराको मधुर धून
मुटु रेट्ने बिरही त्यो गीतको बयान नगर भो ।
