राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपालचोकको क्षेत्र नं. २ प्रदेश सभा २ (ख) बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि ( पार्षद )११ जना निर्बिरोध निर्वाचित हुनुभएको छ ।
निर्विरोध निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि ( पार्षद ) हरुमा पशुपति शम्सेर जबरा , उदय सापकोटा , नर्सिङ श्रेष्ठ (गोपाल), अम्बर बहादुर पण्डित , भिमसेन खनाल, गुनु पाख्रिन तामाङ, बोल बहादुर तामाङ्ग (दिलीप) , हिरा माया तामाङ, कान्छी तामाङ, शुभलाल रामधम र खेन्दो तामाङ रहनुभएको राप्रपा क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट नेतृत्वमा दावी नगर्ने बताउनुभएको छ ।
विज्ञप्ति जारी गरी उहाँले आफू निर्वाचन प्रक्रियाबाट अलग रहेको घोषणा गर्नुभएको छ । ‘नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो । त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु’ उहाँले भन्नुभयो ।
अध्यक्ष जबराले सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले सर्वसम्मतबाट अध्यक्ष चयन गर्न आफूले प्रयत्न गर्ने पनि बताउनुभएको छ ।
‘राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि मेरो भूमिका र सहयोग अनवरत रहनेछ’ उहाँले भन्नुभएको छ, ‘पार्टी जीवनमा सहकार्य गरेका सम्पूर्ण साथीहरुको राजनीतिक हित संरक्षण गर्न क्रियाशील रहने छु ।’
राप्रपाको अध्यक्षमा कमल थापा दोहोरिन चाहनुभएको छ भने नेता राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्नुभएको छ ।
