काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४ का स्थानीय बासिन्दाले सार्वजनिक जग्गा संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आफूहरूले यसअघि विभिन्न सरकारी निकायमा दिएको उजुरीमाथि प्रभावकारी पहल नभएको दाबी गर्दै प्रधानमन्त्री तथा अन्य सरोकारवाला निकायसँग हस्तक्षेपको माग गरेका छन्। स्थानीयका अनुसार साविक मेथिनकोट गाविस–२ (हाल नमोबुद्ध नगरपालिका–४) अन्तर्गत रहेको कित्ता नम्बर ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा विगतदेखि गौचरण तथा वन क्षेत्रका रूपमा परिचित रहेको थियो।
सोही जग्गा व्यक्तिगत नाममा दर्ता गरी किनबेच गरिएको र त्यसबाट ठूलो आर्थिक लाभ लिइएको दाबी उनीहरूको छ। उक्त विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, वन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक लगायतका निकायमा उजुरी दिएका थिए। उजुरीमा जग्गा दर्ता तथा किनबेच प्रक्रियामा केही व्यक्तिसँगै सम्बन्धित सरकारी निकायका कर्मचारीहरूको समेत भूमिका रहेको आरोप लगाइएको छ। स्थानीयको भनाइअनुसार पछिल्लो समय उक्त जग्गामा खेतीपाती तथा अन्य गतिविधि सञ्चालन गरी भोगचलन देखाउने प्रयाससमेत गरिएको छ। सार्वजनिक रूपमा विषय बाहिरिएपछि जग्गामा थप गतिविधि बढाइएको उनीहरूको दाबी छ। यसअघि विभिन्न निकायमा निवेदन दिँदा पनि अपेक्षित सुनुवाइ नभएको भन्दै स्थानीयले पुनः सम्बन्धित निकायमा प्रमाणसहित निवेदन पेश गरेका छन्। उनीहरूले विवादित जग्गाको वास्तविक अवस्था यकिन गरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्। स्थानीयले सार्वजनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको जग्गाको स्वामित्व, दर्ता प्रक्रिया तथा त्यससँग सम्बन्धित सम्पूर्ण विषयमा निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
