काठमाडौं । नेपाल पत्रकार महासंघ ले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र पत्रकारमाथि हुने दबाब बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा महासंघले सञ्चार क्षेत्र अहिले आर्थिक तथा पेशागत दुवै हिसाबले चुनौतीपूर्ण अवस्थामा पुगेको जनाएको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्मा ले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेको बताउँदै पत्रकारले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने धारणा राखिन् । महासचिव रामप्रसाद दाहाल ले समाचार सम्प्रेषणकै कारण पत्रकारमाथि आक्रमण हुने, दोषीलाई कारबाही नहुने तथा सञ्चार संस्थाहरू आर्थिक अभावमा चल्न कठिन भएको बताए । उनका अनुसार पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्र अभ्यासमाथि चुनौती थपिँदै गएको छ । उनले सरकारी विज्ञापन वितरणको नयाँ व्यवस्थाले निजी सञ्चारमाध्यमलाई प्रत्यक्ष असर परेको उल्लेख गर्दै विज्ञापनलाई पत्रकारिताको मुख्य आधारका रूपमा व्याख्या गरे । उनका अनुसार सरकारी सूचना तथा विज्ञापन सीमित माध्यममा केन्द्रित हुँदा निजी मिडिया आर्थिक दबाबमा परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी सूचनामूलक विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने नीति अघि बढाएपछि निजी क्षेत्रका दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन सञ्चारमाध्यम प्रभावित बनेको महासंघको भनाइ छ । महासंघले सरकारी विज्ञापन कटौतीका कारण धेरै सञ्चारकर्मीको रोजगारी संकटमा परेको तथा केही साना र स्वरोजगारमूलक सञ्चारमाध्यम बन्द हुने अवस्थासम्म पुगेको जनाएको छ । निजी मिडियाले विगतदेखि भ्रष्टाचार, अनियमितता र सार्वजनिक सरोकारका विषय उजागर गर्दै नागरिकलाई सूचना प्रवाह गर्दै आएको महासंघको तर्क छ । पछिल्लो समय डिजिटल मिडियामा प्रकाशित सामग्री हटाउन दबाब दिने, ह्याक गर्ने तथा समाचार नियन्त्रण गर्ने प्रयाससमेत बढेको महासंघले उल्लेख गरेको छ । छापामाध्यममा प्रकाशित सामग्री भने अभिलेखका रूपमा सुरक्षित रहने भएकाले तथ्य प्रमाण संरक्षणमा सहयोग पुग्ने पत्रकारहरूको भनाइ छ । महासंघले स्वतन्त्र प्रेसमाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्र, पारदर्शिता र सुशासनका लागि हानिकारक हुने चेतावनी दिएको छ । साथै पत्रकारको सुरक्षा सुनिश्चित गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र निजी सञ्चारमाध्यमलाई समान व्यवहार गर्न सरकारसँग आग्रह गरेको छ ।
