सम्पर्क

फस्ट स्टेप नेपालको १०औँ साधारण सभा सम्पन्न

सामाजिक सेवा, शिक्षा, जनचेतना अभिवृद्धि तथा समुदाय विकासका क्षेत्रमा निरन्तर सक्रिय संस्था फस्ट स्टेप नेपाल को १०औँ साधारण सभा भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दुर्गा प्रसाद आरणको सभापतित्व तथा सामाजिक विकास समितिका संयोजक एवं चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १३ का वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, युवा प्रतिनिधि, महिला अगुवा, स्थानीय व्यक्तित्व तथा संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, सामाजिक चेतना, स्वास्थ्य, वातावरण संरक्षण, सशक्तीकरण,युवा परिचालन तथा विपद् व्यवस्थापनका क्षेत्रमा भएका गतिविधिहरुको समीक्षा गरिएको थियो। संस्थाले विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा अवसरबाट वञ्चित समुदायलाई लक्षित गरी विविध कार्यक्रम सञ्चालन गरिएका शैक्षिक सहयोग, छात्रवृत्ति,महिला सशक्तीकरण कार्यक्रम, सीप विकास तालिम, तथा सामाजिक जागरण कार्यक्रमको प्रशंसा गरिएको थियो। प्रमुख अतिथि रामप्रसाद गौतमले समाज विकासमा गैरसरकारी तथा सामाजिक संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । त्यसैगरी, अध्यक्ष दुर्गा प्रसाद आरणले संस्थाको सफल यात्रामा साथ दिने सम्पूर्ण सदस्य, शुभेच्छुक, सहयोगी तथा समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिणाममुखी कार्यक्रममार्फत समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्दता जनाउनुभयो । साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ । स् अध्यक्ष – दुर्गा प्रसाद आरण, उपाध्यक्ष – दिपक प्रसाद अर्याल, उपाध्यक्ष – ज्ञानबहादुर तामाङ, सचिव – यमराज विश्वकर्मा, कोषाध्यक्ष – इशा तामाङ , सदस्य – नकुल गिरी, सदस्य – मनिका तामाङ, सदस्य – पन्जुमाया तामाङ, सदस्य – समीर तामाङ , सदस्य – कृष्ण गिरी , सदस्य – रुपेश ढुंगाना नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । नयाँ कार्यसमितिले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले अगाडी बढाउने विश्वास व्यक्त गरिएको छ । संस्थाले आगामदिनमा शिक्षा सुधार, महिला तथा युवा सशक्तीकरण, सीप विकास, वातावरण संरक्षण र सामाजिक सद्भाव अभिवृद्धिका क्षेत्रमा नयाँ योजनासहित अघि बढ्ने जनाएको छ ।