सम्पर्क

काठमाडौंमा जेष्ठ नागरिकहरूको सांस्कृतिक उत्सव

काठमाडौं — जेष्ठ नागरिकहरूको सक्रिय सहभागितामा आधारित एक विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम राजधानीको हनुमानढोका दरबार क्षेत्र मा सम्पन्न भएको छ। न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा भएको उक्त कार्यक्रममा ७० वर्ष नाघेका बाजे–बज्यैहरूले भजन–कीर्तन, परम्परागत नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले नेवार समुदायका मौलिक पोशाकमा जीवनशैली झल्किने गरी नृत्य र गीत प्रस्तुत गरेका थिए। बिहानको दैनिक क्रियाकलापदेखि साँझसम्मका सांस्कृतिक अभ्यासलाई समेटेर विभिन्न रैथाने गीतमा आधारित प्रस्तुति दिइएको थियो। यसले परम्परा र जीवनपद्धतिलाई जीवन्त रूपमा देखाएको उपस्थित दर्शकहरूले बताएका छन्। त्यसैगरी, गिरिजा प्रसाद जोशी का कृतिमा आधारित गीतहरू पनि कार्यक्रममा समावेश गरिएको थियो। लगन टोलका स्थानीय समूहले भजन प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले गरेका थिए। आयोजक संस्थाका अनुसार नेपाल भूकम्प २०७२ पछि सामाजिक रूपमा एक्लोपन महसुस गर्न थालेका जेष्ठ नागरिकहरूलाई लक्षित गरी संस्था स्थापना गरिएको हो। सुरुमा डे–केयर सेवाबाट अघि बढेको संस्थाले हाल विभिन्न सामाजिक, सीपमूलक र मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।जेष्ठ नागरिकहरूलाई एकै स्थानमा भेला गराई पारस्परिक संवाद, सीप विकास तथा मनोरञ्जनका कार्यक्रममार्फत उनीहरूमा आत्मविश्वास बढाउने र एक्लोपन कम गर्ने लक्ष्य राखिएको छ। साथै, महिलामाथि हुने विभेद न्यूनीकरण तथा आत्मसुरक्षासम्बन्धी तालिमहरू पनि सञ्चालन गरिँदै आएको छ। संस्थाकी अध्यक्ष शिला सायमिका अनुसार यस्ता कार्यक्रमले जेष्ठ नागरिकहरूलाई मात्र होइन, समग्र समाजलाई पनि सांस्कृतिक रूपमा जोड्ने काम गरिरहेका छन्। संस्थाले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ।