सम्पर्क

बृहत् पाशुपत क्षेत्र पदयात्री लाई फड्केस्वरमा स्वागत

देवराज सुबेदी,विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउने उदेश्यले आयोजित ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’ गर्दै स्फटिकेश्वर महादेव मन्दिर मेलम्ची १३ फट्केस्वर आइपुगेको छ । उक्त टोलिलाई मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्वागत गर्नुभयो । आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको आयोजकले जनाएको छ । पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको महेश सन्न्यास आश्रमका पीठाधीश एवम् महेश संस्कृत गुरुकुलम्का अध्यक्ष स्वामी रमणानन्द गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं बाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा सुरु गरिएको हो। स्वामी गिरिको सत्सङ्कल्पमा पदयात्रा गरिएको जनाइएको छ। कुसेस्वर, भिमेश्वर,काफेस्वर,कश्यपेस्वर र स्फटिकेस्वर सम्म यात्रा गरिएको छ । चैत १६ गते पशुपति क्षेत्रबाट आदिलिङ्ग कुशेश्वरतर्फ यात्रा गरि कार्यक्रमको सुरुवात गरिएको हो । पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको स्वामी गिरिले बताउनुभयो । कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुरलगायत क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शनका लागि पनि पैदल यात्रा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा ३५–४० दिनमा बाग्मती प्रदेशका १० जिल्लामा रहेका सिद्धलिङ्गको तीर्थयात्रा सम्पन्न हुने अनुमान गरिएको छ। पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा प्रताप मल्लपछि अहिले गर्न लागिएको जानकारी बताउनुभयो । पदयात्रा समितिका सचिव श्यामकृष्ण सुवेदीले ६४ शिवलिङ्गमध्ये २४ वटा काठमाडौंमा रहेका जानकारी दिनुभयो । उहाँका अनुसार पदयात्राका क्रममा काठमाडौं वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा हुनेछ। यी हुन् पदयात्रा गरिने ६४ सिद्धज्योतिर्लिङ्गहरू : १. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली २. भीमेश्वर महादेव, दोलखा ३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक ४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक ५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक ६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक ७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक ८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक ९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक १०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक ११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर १२. तिलेश्वर महादेव, लेले, ललितपुर १३. चम्पकेश्वर महादेव, लेले, ललितपुर १४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर १५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर १६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर १७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ १८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ १९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर २०. उन्मत्तेश्वर महादेव, टिष्टुङ, मकवानपुर २१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर २२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर २३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर २४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर २५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ २६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट २७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट २८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट २९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ ३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ ३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ ३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ ३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ ३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ ३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर ३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर ३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर ३८. वाल्मीकेश्वर महादेव, भक्तपुर ३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर ४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर ४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर ४२. विश्वरूपेश्वर महादेव, भक्तपुर ४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर ४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर ४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर ४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर ४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर ४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर ४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ ५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ ५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ ५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ ५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ ५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ ५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ ५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ ५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ ५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ ५९. जलेश्वर महादेव, पशुपति, काठमाडौँ ६०. गुह्येश्वर महादेव, गुल्येश्वरी, काठमाडौँ ६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ ६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ ६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ ६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ