सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ बतासेमा गोलभेडा, काउली तथा अन्य विभिन्न तरकारी उत्पादन र अचार बनाउने तालिमको उद्घाटन गरिएको छ।
स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने तथा आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम २२ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सुदीप श्रेष्ठ, नेत्रज्योति सहकारी संस्थाका अध्यक्ष, वडाका जनप्रतिनिधिहरू, सञ्चारकर्मी, सहकारीका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले तालिमले स्थानीय स्तरमै उत्पादन हुने गोलभेडा, काउली, कोइरालो, आप लगायतका कृषिजन्य वस्तुको सदुपयोग र बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। विशेषगरी, उत्पादन भएको तरकारी तथा फलफूल खेर जान नदिई त्यसलाई प्रशोधन गरी अचार लगायतका परिकारमा रूपान्तरण गरेर आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
यसले स्थानीय किसानलाई सीपमूलक ज्ञान प्रदान गर्नुका साथै आत्मनिर्भरता अभिवृद्धिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको आयोजना नेत्रज्योति सहकारी संस्थाले गरेको हो भने सहयोग चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोकले गरेको जनाएको छ।
