सम्पर्क

सडकबाटै जनताको पक्षमा भूमिका खेल्ने उज्यालो नेपाल पार्टीको घोषणा

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफनो पार्टीले सडकबाटै जनताको प्रतिनिधित्व गर्दै देशका विभिन्न समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् । बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्याक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै जनताको अपेक्षा अनुसार काम गर्न नसकेको सरकारलाई खबरदारी गर्नु आफनो पार्टीको प्रमुख दायित्व रहेको उल्लेख गरे । उनले मुलुकको राष्ट्रियता सुदृढ पार्ने, विद्यमान आर्थिक तथा सामाजिक समस्याहरु समाधान गर्ने र देशलाई समृिद्घको दिशातर्फ अघि बढाउने उद्देश्यले उज्यालो नेपाल पार्टीले सशक्त ढंगले आवाज उठाउने स्पष्ठ पारे । “हामी सडकमै बसेर पनि जनताको पक्षमा सरकारको भूमिका खेल्छौँ । जनताले दिएका अधिकार र अपेक्षालाइृ केन्द्रमा राखेर हामीले काम गर्नेछौँ” उनले भने । घिसिङले राम्रो कामको सर्मथन गर्ने तर जनविरोधी गतिविधि र गलत नीतिहरुविरुद्घ सशक्त रुपमा विरोध जनाउने नीति पार्टीले लिएको बताए । उनका अनुसार पार्टीले पछिल्लो समय संगठन सुदृढीकरणमा जोड दिँदै देशभरका कार्यकर्ता र उम्मेदवारहरुसँग छलफल गरेर आगामी कार्यदिशा तय गरिसकेको छ । आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले जनताको घरदैलोमा पुग्ने, संगठन विस्तार गर्ने र आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य राखेको उनले बताए । कार्यक्रममा सहभागी नेताहरुले पनि देशमा देखिएका चुनौतिहरु समाधान गर्न नयाँ सोच र सक्रिय राजनीतिक हस्तक्षेप आवश्यक रहेकोमा जोड दिएका थिए ।