सम्पर्क

रसुवागढी नाकामा तीन महिना व्यापार प्रभावित हुने

चीनसँग जोडिएको महत्वपूर्ण व्यापारिक नाका रसुवागढीमा आगामी तीन महिनासम्म व्यापार प्रभावित हुने भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्ड स्तरोन्रतिको कामका कारण प्रत्येक महिनामा १५ दिन सडक बन्द गरिने भएपछि व्यापारमा असर पर्ने देखिएको छ ।
गल्छी– त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजनाले सूचना जारी गर्दे अप्रिलदेखी जुनसम्म सडक आवागमन आंशिक रुपमा बन्द रहने जनाएको छ । योजनाअनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म सडक पूर्न रुपमा बन्द गरिनेछ ।
“चाइना एड स्याफ्रुबेशी रसुवागढी रिपेयर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट” अन्तर्गत सडक स्तरोन्रतिको कार्य सुरु हुन लागेको हो । चिनियाँ निर्माण कम्पनीले उक्त   काम जिम्मा लिएको छ ।
आयोजनाका अनुसार जोखिमयुक्त स्थानहरुमा काम गर्दा निमार्ण सामाग्री र उपकरण व्यवस्थापन गर्नुपर्ने तथा सुरक्षका कारण सडक बन्द गर्नुपरेको हो । कामलाई तीव्र र सुरक्षित रुपमा सम्पन्न गर्न  यस्तो निर्णय गरिएको बताइएको छ । यद्यपि, अत्यावश्यक र आपतकालीन सवारीसाधनलाई भने सञ्चालनमा सहजीकरण गरिनेछ । अन्य सवारी साधनहरु भने बन्द अवधिमा चल्न  नपाइने जनाएको छ । स्याफ्रु– रसुवागढी सडक करिब १७ किलोमिटर लामो रहेको छ, जसमध्ये अधिकांश भाग चिनियाँ पक्षले स्तरोन्रति गर्ने छ । हाल एक लेनकाृ कच्ची सडक रहेको यो मार्गलाई कालोपत्रेसहित दुई लेनको बनाउने योजना छ ।