सम्पर्क

प्रधानमन्त्रीद्वारा अन्तरनिर्वाचन क्षेत्र मतदानको सम्भावनाबारे छलफल

काठमाडौँ, २७ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्रमा मतदानको व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उहाँले सरोकारवालासँग अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका सम्बन्धमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मतदाता ओसार्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूमाथि आर्थिक भार निकै ठूलो परिरहेको र त्यसले भ्रष्टाचारलगायत अरु बेथिति पनि देखापरेको छ, यसका लागि एउटा सुदृढ कदम चाल्नुपर्ने आवश्यकता छ ।”पुरानै तरिकाको निर्वाचन गर्ने हो भने त जेनजी आन्दोलन गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले एउटा सन्देशयुक्त काम गर्न आवश्यक रहेको बताउनुभयो ।“भोलिका लागि पनि प्रणाली स्थापित गरौँ, हामीले गर्न खोजेको पहलमा राजनीतिक तहको समझदारी पनि हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबै पक्ष तयार हुनुपर्छ, हाम्रा सन्तान डिजिटल साक्षरतामा धेरै अगाडि छन् । राजनीतिक नेतृत्व यो कुरा बुझ्न कति तयार हुनुपर्छ ।”छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहका अधिकारीहरु, कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो ।त्यस अवसरमा नीति अनुसन्धान प्रतिष्ठानले देशबाहिर र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट मतदानका लागि सम्भावित विकल्पका विषयमा आफ्नो अध्ययनको सारांश प्रस्तुत गरेको थियो ।गृहमन्त्री ओमप्रकाश अर्यालले पनि विगतका निर्वाचनभन्दा यसपालि केही न केही फड्को मार्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो चुनावी सरकार हो, विगतका कमजोरी र खराबी हटाउँदै सुधारसहित निर्वाचन गराउन आएको सरकार हो, त्यसैले केही न केही फड्को त मार्नैपर्छ ।”छलफलपछि अन्तरनिर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगका सम्बन्धमा गर्न सकिने काम, लागत र कानुनी संरचनाका विषयमा सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना र निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित संयन्त्र बनाइएको छ ।रासस