सम्पर्क

गुफाडाँडामा धार्मिक तथा सांस्कृतिक पार्क निर्माण सुरु

 

सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित पर्यटकीय स्थल गुफाडाँडामा पर्यटन पार्क निर्माण कार्यको प्रकृया सुरु गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मेलम्ची नगरपालिकाले समुदाय लक्षित पर्यटन विकासको दिशामा पार्क निर्माण कार्य अघि बढाउन ठोस कदम चालेको हो। मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सिन्धुपाल्चोक जिल्लाको मात्र नभइ देसकै नमुनाको रुपमा रहेको गुफाडाँडाका कारण बिदेसी पर्यटक समेत ल्याउँन सक्ने गरी गुफाडाँडाको बिकास गर्न पर्ने बताउँनु हुँदै मेलम्ची नगरपालिकाले धार्मिक र सांस्कृतिक महत्व बोकेको गुफाडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना का साथ आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गर्नु भएको थियो । करिव तीन करोड रुपैयाँको लागतमा निर्माण हुने बुद्ध, छ्योर्तेन र डम्फु पार्क यस क्षेत्रको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। स्थानीय समुदायलाई समेट्दै धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संगमबाट पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको नगरले जनाएको छ। नगर प्रमुख आइतमान तामाङले संघ र प्रदेश सरकारको भरमा तीन वर्ष गुजारे पनि आवश्यक स्रोत जुटाउन नसकेपछि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट परियोजना अघि बढाउने निर्णय गरेको बताउँनु भयो । “हामीले स्रोतको सीमितता र भौगोलिक कठिनाइबीच पनि सामुदायिक सहभागितामा पर्यटनको बाटो खोल्ने प्रयास गरिरहेका छौं,” प्रमुख तामाङले भन्नुभयो।गुफाडाँडाको धार्मिक र सांस्कृतिक पार्क पहिलोपटक नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको उपप्रमुख उमा प्रधानले बताउनुभयो । “यो पहिलो कदम हो— जलवायु सम्मेलन स्थलसँगै मेलम्चीको सांस्कृतिक पहिचानलाई पर्यटकीय दृष्टिले परिचित गराउने। यसबाट आन्तरिक पर्यटन वृद्धि र स्थानीयको आम्दानी वृद्धि हुने विश्वास छ,” उहाँको भनाई छ।प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले बजेट सीमित भए पनि परियोजना बहुवर्षीय योजनाअन्तर्गत पूरा गर्ने जानकारी दिनुभयो। गुफाडाँडासँगै भोटेचौर, तपचुली, चियाबगान र धौले जस्ता क्षेत्रहरूमा पनि क्रमिक रूपमा सामुदायिक सहभागितामा पर्यटकीय पार्क निर्माण गर्ने दीर्घकालीन योजना नगरपालिकाले अघि सारेको छ। यो पहलले मेलम्चीलाई “सामुदायिक पर्यटनको नयाँ गन्तव्य” बनाउने आधार तयार हुने स्थानीयको विश्वास छ। तत्कालीन जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङको समन्वयमा २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो । त्यतीबेला सरकारका मन्त्रीहरुले यसको बिकास गर्न बजेटको व्यवूथा गरिदिने भन्दै १० बुदै घोषणा पत्र समेत जारी गरिएको थियो ।