सम्पर्क

नेपाली महावाणिज्यदूत निरौला र महानिर्देशक तिङबीच भेटवार्ता

ल्हासा, २०८२ भदौ ११
ल्हासा स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता सम्पन्न भयो ।महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उँहाले नेपाल चीनबीचको ऐतिहासिक संबन्ध बारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पु¥याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिनु भयो । सो अवसरमा उँहाले यो वर्ष नेपाल र चीनबीच कुटनैतिक संबन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्दै पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल पुगेको बताउँनु भयो । गत असार २४ मा ल्हेन्दे खोलामा गएको बाढीका कारण त्यहाँ रहेको नेपाल चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकलाई तात्काल सुरक्षित स्थानमा व्यवस्थित रुपमा राखेको, दुई पटक गरेर ३७४ जना नेपालीहरलाई नेपाल पठाउन मद्दत पु¥याएको, सो स्थानमा फलामे पुल निर्माण गरिरहेकोमा धन्यवाद दिंदै पुल निर्माणमा तीब्रता प्रदान गर्न, सम्भव भएसम्म त्यहाँ ह्युम पाइप राखेर अस्थायी ब्यवस्था गर्न र त्यहाँको गोदाममा नेपाल लैजाने गरी राखिएको सामान नेपाल पठाउन सहजीकरणका लागि अनुरोध गर्नु भयो । त्यसै गरी उनले हालसालै चीन र भारतबीच लिपुलेक नाका सञ्चालनका सन्दर्भमा भएको सहमतिमा चासो राख्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको एवम् नेपाल र चीन दुबै राष्ट्रले हालसम्म एक आपसको सार्वभौमसत्ताको सम्मान गरिरहेको परिप्रक्ष्यमा सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्नु भयो। उक्त अवसरमा महानिर्देशक तिङले नेपाल चीन संबन्धलाई सुदृढ बनाउन हालसम्म गरिएका संयुक्त प्रयासहरुमा महावाणिज्यदूतावासबाट भएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै रसुवा नाका व्यवस्थापनका कार्यमा तीब्रता दिइएको बताउँनु भयो । उँहाले नेपाल र चीनबीच हुने वाणिज्य ब्यापारको मुख्य आधारका रुपमा रहेका रसुवागढी र तातोपानी नाकालाई व्यस्थापन गर्न र किमाथाङ्का नाका सञ्चालन गर्न चीन सरकार तत्पर रहेको बताउँदै यसका लागि संयुक्त प्रयास जरुरी भएको बताउँनु भयो । यसका साथै सो अवसरमा उनले दुई देश र नागरिकहरुको हितमा हुने कार्यमा सहकार्य गर्न तत्पर रहेको बताउँनु भयो ।