सम्पर्क

गुल्मी सेवा समाज कतारले भव्य रूपमा मनायो तिज

दर्शन सुनुवार लोकप्रियसमाचार राष्ट्र्यि दैनिक कतार ,कतारमा रहेका गुल्मेलीहरूको साँझा संस्था गुल्मी सेवा समाज कतारले “तिज विशेष कार्यक्रम” मनाएको छ ।हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर समाजले शुक्रवार ग्रान्ड मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा समाजका का:वा अध्यक्ष सुरज चन्द बोहोराको सभापतित्व तथा समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयको प्रमुख आतिथ्यमा भव्य रूपमा मनाएको हो । विधिगत रूपमा ब्यानर अनावरण गर्दै दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । राष्ट्र निर्माणको निमित्त योगदान पुर्‍याउने ज्ञात अज्ञात सहिद तथा स्वर्गीय झबिन्द्र आचार्यको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।कार्यक्रममा लोक तथा दोहोरी गायिका तारा बिसी लगायत अन्य गुल्मेली कलाकारहरूले सागिंतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा उपस्थित रहेका दिदीबहिनीहरू मज्जाले झुमेर नाचेका थिए । कार्यक्रममा तमु गुरुङ समाज कतारले गुल्मी सेवा समाज कतारलाई चेली माइतीको सम्बन्ध लाई थप प्रगाढ गर्दै कोशेली प्रदान गरेका थिए । गुल्मी सेवा समाज कतारले तमु गुरुङ समाजमा आबद्ध रहेका चेलीबेटीहरूलाई कृतज्ञता समेत व्यक्त गरेको थियो ।प्रमुख अतिथि बुद्ध पाण्डेयले आफ्नो मन्तव्य बोल्दै समाजले विगत लामो समय देखी तिज विशेष मनाउँदै आएता पनि कतार बसाइँमा पहिलो पटक समाजले अत्यन्तै पृथक् रूपमा बृहत् तिज विशेष कार्यक्रमको आयोजना गरेको र भव्य रूपमा सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । रोजगारीको सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्म भूमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरूलाईसमाज सगं जोडिन आग्रह गरे । पाण्डेयले कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै समस्या परेमा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय कतारले केही दिन पहिले सुचारु गरेको हेल्प लाइन नम्बर ७०००१३५३ मा सम्पर्क गर्न आग्रह गरे ।कार्यक्रमलाई समापन गर्दै सभापति चन्दले कार्यक्रमलाई भव्यता साथ सम्पन्न गर्न साथ सहयोग गर्नुहुने र हलमा उपस्थित सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरे । समाजका प्रथम उपाध्यक्ष देव लम्सालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव कुमार राहादी मगरले गरेका थिए । कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली दिदीबहिनी तथा दाजुभाईहरुको बाक्लो उपस्थिति रहेको थियो ।