लोकप्रियसमाचार चौतारा
नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण गरेको छ ।
सहिद मनोज( झपेन्द्र) सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला सदरमुकाम चौतारास्थित बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण कार्यक्रम गरेको सङ्गठनका उपाध्यक्ष पुनम भण्डारीले बताउँनु भयो । नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले उक्त स्मृति दिवसको अवसर पारी ती बालबालिकाहरुलाई टिसर्ट ट्राउजर १० सेट, चामल २ बोरा, केही दाल, तेल र फलफुलहरु वितरण गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज मेघराज भट्टराईले नेपाल निजामती कर्मचारी संगठनले आम निजामती कर्मचारीहरुको हकहितको लागि सधै अग्रणी भूमिका निर्वाह गरिरहेको र संगठनले सधै यस्ता सिर्जनात्मक कार्यक्रमहरु गरी नागरिकको विश्वास जित्ने कामहरु पनि गर्दै आईरहेको बताउनु भयो । उँहाले यस्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि प्रायः धेरैको ध्यान नपुग्ने गरेको पाईएकोले यस्ता कार्यक्रमहरु बेलाबखत गर्न सके सम्वन्धित सरोकारवालाहरु र सहयोगी निकायहरुको समेत ध्यानाकर्षण हुने भनाई व्यक्त गर्नुभयो साथै नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकले सधै यस्तै सिर्जनात्मक कार्यहरु गर्नका लागि शुभकामना दिनुका साथै हामी कर्मचारीहरुले सधै निष्पक्ष भएर देश जनतालाई सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने पहिलो दायित्व रहेको तर्क समेत गर्नुभयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि नेकपा एमाले सिन्धुपाल्चोकको सल्लाहकार एवं पूर्वमाननिय कृष्णराज श्रेष्ठले यो कार्यक्रमको आयोजनाले आफुलाई धेरै खुशी लागेको र यस्तै यस्तै क्रियाकलाप गरी नागरिकलाई सेवा दिन र नेपाल निजामती कर्मचारी संगठन आम कर्मचारीहरु लगायत देश र जनताको वृहत्तर हित गर्ने संगठन हो भन्ने भनाईलाई थप बलियो बनाउन सबै संगठक साथीहरुलाई एकजुट भई अघि बढ्न आग्रह गर्नुभयो । साथै संगठनको राम्रा र सिर्जनात्मक गतिविधिहरुमा नेकपा एमाले सधै सहयोग तथा समन्वय गर्न तत्पर रहेको प्रतिवद्दता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा आवास गृह सञ्चालक एवं अभिभावक संघकी सचिव श्री रजनी श्रेष्ठले नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकलाई धेरै धन्यवाद व्यक्त गर्नुहुदै संगठनको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्ष एवं नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको अध्यक्ष श्री दुर्गाप्रसाद ढुङ्गेलले संगठनले धेरै काम गर्न नसकेपनि यी यस्ता छाँयामा परेका समस्याहरुलाई उजागर गरी सरोकारवालाहरुलाई सुसूचित गराउने कार्य गर्ने कुरा व्यक्त गर्नुभयो र संगठनले यस्ता क्रियाकलामहरु आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
यसै बिच नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकले हालै सरुवा भई सिन्धुपाल्चोक जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलालाई स्वागत गरेको छ ।
कार्यक्रममा संगठन जिल्ला ईन्चार्ज श्री मेघराज भट्टराई, संगठन बागमती प्रदेश कमिटी सदस्य तिलक बहादुर राई, जिल्ला अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेल, आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष शम्भुप्रसाद पोखरेल, संगठन उपाध्यक्ष पुनम भण्डारी, केन्द्रिय अधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठ, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था, सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, संगठित सदस्यहरु प्रकाश थापा, निरज परियार, हरि बहादुर यमसी, राजबहादुर श्रेष्ठ, रविराज धिताल, स्वरुपसिँ तामाङ, श्री आशिष शर्मा लगायतको सहभागिता रहेको थियो । स्वागत गर्दै निजामती कर्मचारी सङ्गठनले सिन्धुपाल्चोक जिल्लाको हरेक समस्या समधान गर्न नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोक जती खेर पनी तैयार रहेको सङ्गठनका अध्यक्ष ढुङ्गेलले बताउँनु भयो ।
