पृथ्वी जंग पाण्डे, नेपाल शिक्षक महासंघका राष्ट्रिय समितिले देशव्यापी आन्दोलन सुरु गरेको छ।आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार सिन्धुपाल्चोक जिल्लाको १२ वटै पालिकामा महासंघको स्थानीय कार्यसमितिले कालोपट्टि बाँधी खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाएको छ।
सिन्धुपाल्चोक शिक्षक महासंघका अध्यक्ष कुमारप्रसाद खतिवडाले आन्दोलन परिचालन समिति बनाएर सबै पालिकामा कालोपट्टि बाँधेर खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाउन जिल्ला समितिको शनिबार बसेको जुम बैठक मार्फत अनुरोध गर्नुभएको थियो। नेपाल शिक्षक महासघं चौतारासाँगाचोकगढी नगर कार्य समितीले नगर प्रमुख कृष्ण प्रसाद सापकोटालाइ पत्र बुझाएको छ ।
यसै क्रममा नेपाल शिक्षक महासंघ, मेलम्ची नगर समितिले मेलम्ची नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने काम सम्पन्न गरेको छ । शिक्षक महासंघ मेलम्ची नगर अध्यक्ष शिवप्रसाद ढुंगानाले जिल्ला अध्यक्ष कुमारप्रसाद खतिवडा, आवद्ध संस्थाका पालिका अध्यक्ष तथा पदाधिकारी सहितको सहभागितामा ध्यानाकर्षण पत्र बुझाइएको छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रमार्फत सो ध्यानाकर्षण पत्र बुझाइएको हो ।
त्यस्तै नेपाल शिक्षक महासंघ भोटेकोशी गाउँपालिका, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षक तथा कर्मचारीका प्रतिनिधिको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत दिपक दाहाल मार्फत ध्यानाकर्षण पत्र बुझाइएको स्थानीय महासंघ अध्यक्ष भक्त लामाले बताउनुभयो । ईन्द्रावती गाउँपालिकाको नेपाल शिक्षक महासंघ , नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षक तथा कर्मचारीका प्रतिनिधिको उपस्थितिमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ।बार्हबिसे नगरपालिकामा नगरप्रमुख बालकृष्ण बस्नेत मार्फत ध्यानाकर्षण पत्र बुझाइएको थियो।स्थानीय तहमा गठित स्थानीय शिक्षक महासंघ ,नेपाल शिक्षक संघ ,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधि र शिक्षकहरुको उपस्थितिमा जिल्लाभरको स्थानीयमा दिउँसो एक बजे देखि ४ बजे सम्मको समयमा ध्यानाकर्षण पत्र बुझाएको हो। शिक्षक कर्मचारीसँग सरकारले पटकपटक गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासंघले आन्दोलन सुरु गरेको हो।महासङ्घको अर्को कार्यक्रम अन्तर्गत आगामी बिहीबार विद्यालयमा आन्दोलनका कार्यक्रमबारे शिक्षक, विद्यार्थी एवम् अभिभावकलाई अवगत गराउने कार्यक्रम रहेको छ ।
आन्दोलन कार्यक्रम अन्तर्गत विद्यालयमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी एवम् विद्यार्थी सहितको भेला आयोजना गरी कार्यक्रम गरिने महासङ्घले जानकारी दियो । आन्दोलन कार्यक्रम शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका ७५३ वटै पालिकाहरूमा खबरदारी भेलाको आयोजना गरिएको हो । शिक्षक महासंघ राष्ट्रिय समितिले विभिन्न चरणमा देशव्यापी रुपमा आन्दोलनका पालिका, जिल्ला हुँदै काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
