सम्पर्क

दलीत,अपाङ्ग,माझी, ६०बर्षमाथीको सबैको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने

नेपाल सरकारले सबैका लागी स्वास्थ्यमा पहुँच पुगोस भन्नका लागी पारिवारिक स्वास्थ्य बिमा लागु गरेको छ । यसरी बिमा गरेपछी अस्पतालमा बिमा गरेका बिरामीहरु उपचार गर्न जाँदा बिभिन्न बहाना बनाएर समयमा उपचार नपाएको गुनासो आईरहँदा चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका मातहतमा अस्पाताल सञ्चालनका लागी सरकारसँग माग गर्ने निर्णय गरेको छ । संघ प्रदेस सरकार अन्तरगत सञ्चालित अस्पतालहरुले हरेक बहानामा बिमाका बिरामी उपचारमा ढिलाइ गरेको गुनासो आएपछी नगरपालिकाले यो कदम चाल्न लागेको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भयो । मंगलबार नगरपालिकामा आयोजित स्वास्थ्य विमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय सिन्धुपाल्चोकका बिमा दर्ता अधिकारी वडागत स्वास्थ्य बिमा दर्ता सहयोगी, सञ्चारकर्मीहरु सहितको नगरपालिकाको लक्षीत बर्गको स्वास्थ्य बिमा कार्यन्वयन समितीको छलफलमा यस्तो बताउँनु भएको हो । कार्यक्रममा जिल्लाको १२ वटा पालिका मध्य चौतारा साँगाचोकगढी नगरपालिकाले नगरका दलीत सबै जेष्ठ नागरिकमा ६० बर्ष माथिका र माझी, दनुवार र अपाङ्गता भएका ब्यक्तिहरुका लागि शतप्रतिशत बिमाको प्रिमियम तिरीदिने र बिमीत ब्यक्तिको स्वास्थ्य उपचारमा पनि पक्षपात हुन नदिने गरी काम गर्नका लागि कार्यपालिकाले निर्णय गरेको बताउँनु भयो । सो अबसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका दलित ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा अति सिमान्तकृत माझि÷ दनुवार समुदायका ब्यक्तिको स्वास्थ्य बीमा निःशुल्क गर्ने बताउँनु हुँदै नगर प्रमुख सापकोटाले नगरपालिकाको १६औँ नगर सभाको निर्णय अनुसार स्वास्थ्य बीमा मार्फत् गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका साथ सो कार्यक्रम संचालन गर्ने निर्णय गरेको बताउनुभयो । सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा निर्वाचित भएपछी लक्षित वर्ग केन्द्रित बीमा कार्यक्रमको पहिलो निर्णय नगर सभा मार्फत गरेर नगरभित्रका सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घ रोग लागेका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गराइरहेकोमा अहीले दलित, माझी, दनुवार, ग÷घ बर्गका अपाङ्कता भएका ब्यक्ती। ६० बर्ष भन्दा माथीका सबैको बिमा गरिदिने व्यवस्था गरिएको हो । लक्षित वर्ग केन्द्रित बीमा सुरु गर्ने जिल्लाको पहिलो चौतारा साँगाचोकगढी नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि अनुदान सहयोगको दायरा बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले बताउँनु भयो ।
उहाँले संघ र प्रदेशले संचालन वितरण गर्ने बिमा प्रिमियम अनुदान नदोहोरिने गरी एक रुपता कायम गरेर काम गर्न बिमा दर्ता सहयोगीहरुलाई अनुरोध गर्नुभयो । नगरपालिकाको आर्थीक सहयोगमा चौतारा अस्पतालमा सञ्चालनमा रहेको फिजियो थेरापीमा नगरका नागरिकलाई पनि शुल्क लिएको भन्ने गुनासो आइरहेको हुँदा अब नगरपालिका आफ्नै खर्चमा आयुर्बेद, फिजीयो एकै ठाउँमा राखेर निःशुल्क सेवा दिन लागेको यो सेवा नगरको २ ठाउँबाट दिन लागीएको समेत जानकारी दिनु भयो ।
नगर जनस्वास्थ्य अधिकृत दिनेश नेपालले सहिद तथा बेपत्ता परिवारका ५२ जना, जनयुद्ध तथा जनआन्दोलनका घाइते २० जना, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति १ सय ८१, महिला स्वास्थ्य स्वयंसेविका ४४ र दीर्घ रोग लागेका २८ व्यक्तिको स्वास्थ्य बीमा गरेको अहिले सम्म ३ सय ५२ परिवारको चौतारा साँगाचोकगढी नगरपालिकाले स्वास्थ्य बीमा गराउदै आएको बताउनुभयो । ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि संघिय सरकारबाट स्वास्थ्य बीमा निःशुल्क गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका अस्पतालबाट बीमा गराएको परिवारले वर्षमा एक लाख रुपैयाँसम्मको निःशुल्क औषधोपचार पाउने गरेका छन् । स्वास्थ्य विमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय सिन्धुपाल्चोकका दर्ता अधिकारी रुपक घिमिरेले चौतारा साँगाचोकगढी नगरपालिका यसरी सबै क्षेत्रलाई समेटेर स्वास्थ्य बिमाको पुरै पैसा तिरिदिएर स्वास्थ्य बिमाको व्यवस्थागर्ने पहीलो पालीका भएको जानकारी दिदै यस अघि त्रिपुरा सुन्दरी गाँउपालिकाले ४० प्रतिशत को व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले चौतारा साँगाचोकगढी नगरपालिकामा १४ हजार ४ सय ३४ परिवारले बिमा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्ची नगरपालिकाले सञ्चालन गरेको मेलम्ची नगर अस्पताल, बाह्रबिसे नगरपालिकाले सञ्चालन गरेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र, इन्द्रवाती गाउँपालिकाले सञ्चालन गरेको नवलपुर आधारभुत अस्पताल र बलेफी गाउँपालिकाले सञ्चालन गरेको जलबिरे स्वास्थ्य केन्द्रबाट र प्रदेस सरकारले सञ्चालन गरेको चौतारा अस्पतालबाट स्वास्थ्य बिमाको उपचार भइरहेको बताउँनु भयो ।उँहाका अनुसार जिल्लामा रहेका १०३वटै वडाहरुमा बिमा दर्ता सहयोगी परिचालीत रहेका छन ।