पिस्कर आन्दोलनका अग्रज व्यक्तित्व तथा विद्रोही जनप्रतिनिधिको रूपमा जनतामा असाधारण योगदान दिने छत्र बहादुर बोहरा नेपाली कम्युनिस्ट आन्दोलनमा निष्ठा र त्यागको धरोहर हुनुहुन्थ्यो । हिजोको पिस्कर सामन्ती शोषण, दमन र अत्याचारको कृडास्थल नै थियो । त्यही कारणले पिस्करले विद्रोहको नयाँ जग बसाल्यो । बर्गसंघर्षको नयाँ आधार भूमि निर्माण गर्यो । पञ्चायती निरङ्कुश राजतन्त्र विरुद्ध उठेको विद्रोहको प्रेरणाको श्रोत बन्यो पिस्कर । यो गरिब भन्दा गरिब किसानले जमिनदारी प्रथा विरुद्ध छेडेको वर्ग सचेत जागरणको इतिहास हो पिस्कर आन्दोलन । यो आन्दोलन जनस्तरको गहिराई र व्यापक समुदायमा फैलाउने अभियानका आधा दर्जन अगुवाहरू मध्ये एक र बारम्बार जनताबाट निर्वाचित हुँदै आफ्ना कर्महरूलाई बेदाग अनुमोदन गरिरहने जनताका लोकप्रिय नेता, अरू भन्दा अलग भूमिकामा रहेर विशिष्ट छाप छोड्न सक्ने कुशल ब्याक्तित्वको रूपमा अधिकांशका स्मृतिमा हुनुहुन्थ्यो छत्र बहादुर बोहरा ! ८३ वर्षको यहाँको उमेरको दुई तिहाइ जीवन जनताको पक्षमा, परिवर्तनको पक्षमा र सुन्दर सुखी पिस्कर बनाउने सपना साकार पार्ने सङ्घर्षमै बित्यो । यही फाल्गुण २६ गते जन्म र कर्मथलोमा पिस्करबासीले भावुक भएर दिवङ्गत नेता प्रति श्रद्धा व्यक्त गरे ।नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले “ नाताले उहाँ मेरो जेठाजु भए पनि उहाँबाट मैले सधैँ कमरेडी ब्यवहार पाएँ “ भन्नू हुँदै “ आफू वहाँको कान्छी भाइ बुहारीको रूपमा पस्किरमा पार्टीको पूर्णकालीन कार्यकर्ताको रुममा भित्रिएको स्मरण गर्नुभयो । पिस्करलाई कर्म भूमि बनाएर पार्टी काम गर्दा कमरेड छत्रले आफूलाई एक सहयोद्धा कमरेडको रूपमा लिएको कुरा बताउनु भयो । म सहरमा जन्मेको हुर्केको महिला, पिसकरमा त्यो पनि पार्टीको भूमिगत नेताको परिवारमा भूमिगत कार्यकर्ताकै रूपमा खट्नु पर्ने परिस्थिति थियो । रातीको समयमा भीर पहराको बाटोमा पिसकरमा जनताले कसरी कष्ट साध्य सहयोग गरेर पार्टी काम अघि बढाइयो र छत्र कमरेडहरूको पार्टी भावना कति धेरै उच्च थियो भन्ने सन्दर्भमा चर्चा गर्नुभयो । कमरेड अमृत बोहराले भावुक भएर आफ्ना स्व. दाजुले पार्टी र समाजमा गर्नु भएको योगदानको स्मरण गर्नु हुँदै क. छत्र बोहराको जीवनीबारे अझै खोज अनुसन्धान गर्नु पर्ने धारणा राख्नु भयो। यसबाट नयाँ पुस्तालाई त्याग र समर्पणको इतिहास बुझाउन र विश्लेषण गर्न सहयोग पुग्ने कुरा उल्लेख गर्नुभयो । आफूहरूले सङ्घर्षमा होमिने क्रममा बुबा बित्नु हुँदाको अवस्थामा पनि भेट गर्न नसकेको, परिवारले जेल नेल,मुद्वा लगायत धेरै कष्ट बेहोर्नु परेको, निजी सम्पत्ति समेतको सुरक्षा नभएको, दाजु वृद्ध अवस्थामा विस्थापित हुनु परेको स्मरण गर्नु भयो ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरेश नेपाल सल्लाहकार परिषद्का सदस्य मेघनाथ पौड्याल, बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा लगायत स्थानीय कमिटीका कमरेडहरूले छत्रले गाउँको विकास र जनताका अधिकार मुखी आन्दोलनमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो । बोहराले पार्टी र जनतालाई के दिन सकिन्छ भनेर मात्रै चिन्ता गर्नु भयो । के लिने भन्ने कुरा सोच्नु पनि अपराध हो भन्ने ठान्नु हुन्थ्यो । असल, निष्ठावान् र जनताको पक्षमा निरन्तर कहिल्यै नथाकी हिँडिरहने समर्पित नेताको निधनले सिन्धुपाल्चोकको कम्युनिस्ट आन्दोलनमा अपुर्णीय क्षति भएको र जिल्लाले एक होनहार अभिभावक गुमाएको तर्फ सबै चिन्ता थियो ।
