सम्पर्क

चौतारामा खानेपानी प्रशोधन केन्द्र सञ्चालनमा

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकामा सञ्चालन रहेको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिले आजबाट गुणस्तरी खानेपानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट ) सञ्चालनमा ल्याएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरबाट ६ करोड २५ लाख लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्नुभए पछी चौताराका उपभोक्ताहरुले गुणस्तरिय एवम् स्वच्छ खानेपानी पिउन पाउने भएको हो ।उद्धघाटनमा मन्त्री यादवले खानेपानी योजनाका लागि जनताले तीसप्रतिशत रकम सह लगानी गर्नुपर्ने वाध्यताको अन्त्य गरिनेबताउँनुहुँदै खानेपानी जस्तो अत्यावश्यक चिजमा जनतालाई तीस प्रतिशत रकम ब्यहोर्न लगाउनु गलत भएको बताउनुभयो । उहाँले खरवौंको सडक बनाउँदा सरकारले जनतासँग एक रुपैयाँ पनि अशुल नगर्ने तर खानेपानी आयोजनाका लागि भने सरकारले ७० प्रतिशत मात्र लगानी गर्दै जनतालाई ३० प्रतिशत सहलगानी गराउनु न्यायसंगत नभएको बताउनुभयो । उहाँले खानेपानी आयोजनाका लागि तीसप्रतिशत सहलगानीको निर्देशिका खारेजीका लागि विज्ञसमूहसँग परामर्श हुँदै गरेको उल्लेख गर्नुभयो ।मन्त्री यादवले सरकारले छिट्टै नै जनताको पानी सरकारको लगानी कार्यक्रम ल्याउन लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो यो कार्यक्रम अन्तर्गत जनताको पानी हुनेछ,मूहान हुनेछ त्यसको उपभोग र संरक्षणको दायित्व जनताबाट हुनेछ भने सरकारको सय प्रतिशत लगानी हुनेछ । पानीको देश भनेर चिनिएको मूलुकका जनताले पानी निशुल्क उपभोग गर्नु पाउनु पर्ने तर्क अघि सार्दै मन्त्री यादवले खानेपानीलाई जनताको मौलिक हकको रुपमा स्थापित गर्न पनि मन्त्रालय अहोरात्र खटिरहेको जानकारी दिनुभयो ।आयोजनाका प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिसेकेण्ड २५ लिटर पानी प्रशोधन हुने जानकारी दिनुभयो । समितिका अध्यक्ष एवम् पूर्व सांसद सुभाष कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत समितिका कोषाध्यक्ष टक कार्कीले गर्नुभएको थियो भने समितिका सचिव श्यामकृष्ण श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा समितिलाई जग्गादान र अन्य सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष हेमबहादुर तामाङ लगायतलाई सम्मान समेत गरिएको थियो ।