सिन्धुपाल्चोक । ०८१ मंसिर २५ गते
७९ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ बनाएर डिसेम्वर १० मा सिन्धुपाल्चोकको मानव अधिकार अवस्था बारे समिक्षा कार्यक्रम गरिएको छ ।सन् १९४८ डिसेम्वर १० का दिन सयुक्त राष्ट्र संघबाट मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको थियो । मानव अधिकारको बिश्वब्यापी घेषणा पत्र जारी भएको दिनलाई बिश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउदै आइएको छ ।“सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानव अधिकार” भन्ने मूल यसवर्षको राष्ट्रिय नाराका साथ सदरमुकाम चौतारामा सम्पन्न कार्यक्रममा चौतारा सागाचोकगढी नगर प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, साहायक प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाजका ब्यक्तिहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, मानव अधिकार कर्मी, पत्रकार तथा कानुन ब्यवसायीहरु, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थित रहेको थियो ।समिक्षा कार्यक्रममा मानव अधिकार कर्मी नातिबावु धितालले सन् २०२४ मा सिन्धुपाल्चोक जिल्लामा भएका मानव अधिकार संग सम्वन्धित घटनाहरु प्रस्तुत गरेका थिए । अधिकार कर्मी धितालका अनुसार यस वर्ष जिल्लामा जम्मा ९१ वटा मानव अधिकार उल्लंघन संग सम्वन्धित घटनाहरु भएका छन् । जसमध्ये हत्या सात, कुटपिट तथा ज्यानमार्ने प्रयास तीन, जेल तथा काराकारमा भएका घटना दुइ, बलात्कार २४, बलात्कार प्रयास पाँच, यौन दुब्र्यवहार तीन, आत्महत्या दुरुत्सान एक, घरेलु हिंसा ५७ र जातीय विभेद एक रहेका छन् । ९१ वटा घटनाहरुमा ८३ जना महिला र नौ जना पुरुष पीडित भएको तथ्यांकमा उल्लेख छ ।कार्यक्रमका प्रमुख अतिथि चौतारा सागाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले मानव अधिकार संरक्षण र प्रवर्दन गरी समाजीक न्याय प्राप्तीको खातिर आफु सधै क्रियशिल रहने बताउनुभयो ।चौतारा सागाचोकगढी नगरपालिका उप प्रमुख सिता थापाको अध्यक्षतामा भएको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमखु पदमनाथ नेपाल, साहायक प्रमखु जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष खड्का, जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, नेपाली कांगेसका जिल्ला सचिव बिलबहादुर तामाङ, नेकपा (एमाले) का पुर्व जिल्ला सचिव रामचन्द्र बस्नेत, नेकपा (माओवादी) केन्द्रका जिल्ला सदस्य मिना नेपाल नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद ज्ञानेन्द्र तिमल्सीना, नेपाल वार इकाइका जिल्ला अध्यक्ष भूपेन्द्रबहादुर थिङ, गैरसरकारी सस्था महासंघका जिल्ला सदस्य रिना श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।