सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले आफ्ना नगरका सबै वडाहरूमा एकीकृत घुम्ती सेवा सुरु गरेको छ । घुम्ती सेवामा मानिस, पशुपन्छी, माटोको परीक्षण गरिनुका साथै उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण प्रशिक्षण लगायत नगरपालिकाबाट हुने सबै खालका सेवाहरू समावेश रहेको छ । उक्त सेवा वडा नं. १ बाट सुरु गरिएको छ ।
नगरपालिकाको आयोजनामा कृषि, पशु, स्वास्थ्य, योजना सम्बन्धी एकीकृत घुम्ती सेवा शिविर भएको हो । बाह्रबिसे नगरपालिका वडा नं. १ मा बाह्रबिसे नगर उपप्रमुख मञ्जु तामाङको प्रमुख अतिथिमा शिविर सुरु भएको हो । बाह्रबिसे नगरपालिका वडा नं. १ का वडाध्यक्ष आङदोर्जे शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका १ सय ७५ जनाले सेवा लिएको नगर उपप्रमुखको सचिवालयका कमल लामाले जानकारी दिनुभयो । कार्यक्रमको शुभारम्भ गर्दै उप प्रमुख तामाङले नगरका कोही पनि नागरिकहरू बेरोजगार बन्न नपरोस् कोही पनि शिक्षा स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्दै नगर प्रमुख बालकृष्ण बस्नेतले हरेक वडाहरूमा यस्ता शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइदिनु भएको र सोही अनुसार यो सेवा दिन आएको बताउनु हुँदै स्थानीय स्तरमा हुने उत्पादन, स्थानीय स्तरमा गर्न सकिने उद्योग व्यवसायीहरूलाई नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताउनु भयो ।उहाँले यो घुम्ती सेवा नगरपालिकाको सबै वडामा हुने भएकोले आ–आफ्नो वडामा सेवा लिनुहुन सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध समेत गर्नुभएको छ ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाको आयोजनामा कृषि, पशु, स्वास्थ्य, योजना सम्बन्धी एकीकृत घुम्ती सेवा शिविर बाह्रबिसे नगरपालिका वडा नं. १ बाट बिहीबार देखी सुरु भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले वडामा भएका विकासका कार्यक्रमहरूको भुक्तानी लिनका लागी नगरपालिकामा जाँदा नगरपालिकामा गएर कागजात नपुगेर फर्कन नपरोस् भन्दै आवश्यक कागजहरूको बारेमा जानकारी दिने, पशुपन्छी रोग परीक्षण र उपचार गरिदिने, माटो परीक्षण गरी प्राङगारिक मल उत्पादन तथा प्रयोगका लागि सहयोग गर्ने मानिसको समेत स्वास्थ्य परीक्षण लगायत नगरबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन समेत यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।कार्यक्रमका सभापतित्व गरी रहनु भएका वडाध्यक्ष आङदोर्जे शेर्पाले सेवा लिनका लागि छुटेका वडा बासीहरूलाई पनि नजिकका अरू शिविरमा गएर सेवा लिन सकिने र वडाबाटै पनि हुन र गर्न सकिने सेवाहरू नियमित हुने बताउनु भयो । उहाँले आफ्नो वडामा सक्रियता साथ सेवा प्रदान गरी १ सय ७५ जनाले प्रत्यक्ष रूपमा सेवा लिनुभएमा सेवा दिने कर्मचारी सहयोगी र सेवाग्राहीलाई विशेष धन्यवाद दिनुभयो । कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरूलाई समेत प्रशिक्षण दिइएको थियो ।
नगरपालिकाका योजना शाखाका गणेश मोक्तानले भुक्तानी लिन आउँदा आवश्यक पर्ने कागजातहरू काम गर्दा गर्न पारदर्शीताका बारेमा जानकारी गराउनु भएको थियो भने प्राविधिक सुरेन्द्र नेपालले काम गर्ने र भुक्तानी दिने प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । उपभोक्ता अभिमुखीकरण कार्यक्रममा वडाका १२ नगरको ४ र बागमती प्रदेशको १ गरी जम्मा १७ वटा योजनाहरू रहेको र १७ वटै योजनाको उपभोक्ता समिति गठन भइसकेकाले सबै उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशिक्षण दिइएको नगरपालिकाका योजना शाखाका गणेश मोक्तानले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य शाखाका राजकुमार पौडेलको नेतृत्वमा स्वास्थ्य सेवा पशु शाखाको पीताम्बर घिमिरेको नेतृत्वमा पशु सेवा कृषि शाखाका गजेन्द्र साकीको नेतृत्वमा पशु सेवा प्रदान गरिएको थियो । मोक्तानका अनुसार यो कार्यक्रम नगरका सबै वडामा हुने र उपभोक्ता समिति बनी सकेको वडाहरूमा तत्काल र नबनेका वडाहरूमा पनि बनाइ सकेपछि गरिने छ ।
