सम्पर्क

माछापुच्छ्रे परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम

माछापुच्छ्रे परोपकार संस्था लाहाचोक कास्कीको आयोजना र वैदेशिक रोजगार मञ्च लाहाचोकको समन्वयमा एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ ।
संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो । सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो । संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई नगद आठ हजारसहित शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री सहयोग समेत गरेको छ । समारोहमा समाजका ज्येष्ठ विपन्न आमा लक्ष्मी नेपाली, जुना परियार, विष्णुमाया कामी, रुकी परियार र लीला रानाभाटलाई साडीचोलो र चप्पलसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि अर्जुनबहादुर शाहीले परदेशमा बसेका गाउँका भाइछोराले थालेका सामाजिक कामले गाउँप्रतिको माया बढाउने भएकाले आफ्नातर्फबाट सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले ज्ञान आर्जनका लागि समाजका हरेक व्यक्ति प्रेरणाका श्रोत बन्ने भएकाले राम्रो नराम्रो टिकाटिप्पणी भन्दा त्यसबाट आफूले ग्रहण गर्ने शिक्षा नै महत्वपूर्ण कुरा रहेको धारणा राख्नुभयो । लाहाचोक ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले वैदेशिक रोजगार मञ्च विधिवत माछापुच्छे« परोपकारी संस्था भएर अगाडि बढेको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले आफू सरकारमा बसेर पनि गर्न नसकेका कार्यक्रम परोपकारी मञ्चले गरेको भन्दै लाहाचोक प्रकृतिको वरदान भएकाले अझ समुन्नत बनाउन सबैलाई एक भएर लाग्नसमेत आग्रह गर्नुभयो । लाहाचोक ४ का पूर्व वडाध्यक्ष पूर्णबहादुर शाहीले गाउँको विकासका लागि एक्लो जनप्रतिनिधिले केही गर्न नसक्ने भएकाले सबै गाउँलेलाई विकासको अभियानमा एकजुट हुन आग्रह गरे । भूतपूर्व डिएसपी राजेन्द्र अधिकारीले माछापुच्छ्रे परोपकारी संस्थाका हिजो सुनेका भन्दा आज प्रत्यक्ष देखेका गतिविधिबाट आफू निकै प्रभावित भएको धारणा राख्नुभयो ।स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष असफल गौतमले जन्मभूमिमा भरोसा नपाएर परदेश भएकाहरू परदेशबाट स्वदेशको विकास र समृद्धिमा लगाएको चिन्तनप्रति स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो । युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले गाउँले धेरै आशा गरेका संस्थाका गतिविधिलाई थप उचाइमा पुर्याउन सब एक भएर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा लाहाचोक साहित्य सदनका अध्यक्ष लिलाधर अधिकारी अभिलाषी, सिर्जना साहित्य सदनका सचिव पदम नेपाल, समाजसेवी मिनराज अधिकारीलगायतले परोपकारी मञ्चका गतिविधिको प्रशंसा गर्नुभएको थियो । समारोहमा सुरक्षा शाही, दिपेश नेपाली, कृष्टिना जिसी, लाहाचोक नौमती बाजा समूहले विविध सांस्कृतिक प्रस्तुति राख्नुभएको थियो ।
इन्द्रप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीप क्षत्रीले कार्यक्रम संयोजक राजु क्षत्री अपुरोको परिकल्पना अनि अथक प्रयास र मेहनत अनि सुशील श्रेष्ठको कुशल व्यवस्थापनको प्रतिफल हालसम्मका सबै कार्यक्रमहरू सफलता पुर्ण सम्पन्न भैरहेको बताउनुभयो । संस्थाका सचिव सुशील श्रेष्ठले संस्था विधिवत स्थापनापछि पहिलो प्रारम्भिक साधारण सभासहितको कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो ।