सम्पर्क

इन्द्रेश्वरी माविका ५ विद्यार्थीलाई बिनोद नेपाल स्मृति फाउण्डेसनद्वारा पुर्ण छात्रवृत्ति

 

 

सिन्धुपाल्चोक जिल्ला का इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीले पाएका छन ।
बिनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । बिहिबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ र फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गर्नुभएको हो ।
कक्षा ९, १० र ११ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा कक्षा ११ का निरूता आचार्य र राजु दनुवार, कक्षा १० को मानवी पुरी, कक्षा ९ को हिमानी चालिसे र सन्दिप गिरी रहेका छन ।फाउण्डेसनले ५ जनालाई स्टेसनरी वापत जनही ५००० समेत प्रदान गरेको छ । वर्षभरी निशुल्क पढ्न पुग्ने गरि कक्षा ९ का दुई विद्यार्थीलाई जनही १६ हजार ४ सय ५०, कक्षा १० का एक विद्यार्थी लाई १६ हजार ६ सय ५० र कक्षा ११ का दुई विद्यार्थीलाई जनही २४ हजारको दरले नगद प्रदान गरिएको हो । यश बर्ष प्रदान गरिएको छात्रवृत्ति तर्फ जम्मा ९७ हजार ५ सय ५० र स्टेशनरी बापत २५ हजार गरि १ लाख २२ हजार ५ सय ५० रहेको फाउण्डेसनकी कोषाध्यक्ष वृन्दा नेपालले जानकारी दिनुभयो ।बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय बिनोद नेपालको सम्झनामा तीन बर्षदेखि निरन्तर छात्रवृत्ति प्रदान गरिरहेको फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो ।समाजसेवी डा. गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उहाँको सम्झनामा गठन गरिएको फाउण्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । हाल फाउण्डेसनले मेलम्ची नगरपालिकालाई केन्द्रविन्दुमा राखेर छात्रवृत्ति प्रदान गरिरहेको छ । फाउण्डेसनको उद्देश्यको बारेमा बताउँदै फाउण्डेसनका अध्यक्ष नेपालले धेरै इन्जिनियर उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको जानकारी दिनुभयो । फाउण्डेसनसँग आफ्नो रगत जोडिएको बताउँदै उहाँले कक्षा १२ पढेपछि विद्यार्थीले एउटा जागिर प्राप्त गर्न सकुन् भनेर यो कार्यक्रम शुरु गरिएको बताउनुभयो ।अन्तर्वार्ता र विभिन्न मुल्याङ्कन विधि बाट छनौँट भएका जेहेन्दार विद्यार्थीहरूलाई फाउण्डेसनले कक्षा ९ देखि १२ सम्म पढाईमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने संस्थाका सचिव रोहिणी राज नेपालले जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि तथा फाउण्डेसनका सल्लाहकार वंशलाल तामाङले बिनोद नेपाल स्मृति फाउण्डेसन असल नागरिक बनाउने मिसनमा रहेको बताउनुभयो । दुखद घटनाबाट सृजित भएको छात्रवृत्तिको मिसन आफैमा महान रहेको तामाङको भनाई छ । विद्यार्थीहरू साक्षर हुन प्रयत्न गर्ने भन्दा पनि शिक्षित बन्ने प्रयत्न गर्नुपर्ने भनाई तामाङको थियो । “खाडीमा कमाउने पैशा यहिँ कमाउन सकिन्छ भनेर चेतना अभिबृद्वि गर्न आवस्यक छ“ तामाङले भन्नुभयो “प्राविधिक र ब्यवहारिक शिक्षा नभए सम्म देशमा युवाहरू बस्ने वातावरण बन्दैन“ ।कार्यक्रमका विशेष अतिथि समाजसेवी सागर कुमार श्रेष्ठले छात्रवृत्ति जस्तो पवित्र काम अरू हुन नसक्ने धारणा राख्नुभयो । डा. गंगादत्त नेपालको सिङ्गो परिवार यश मिसनमा लागेको भन्दै श्रेष्ठले १ जना ब्यक्तिले चाह्यो भने सिंगो समाज परिवर्तन गर्न सक्ने बताउनुभयो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई यसको सदुपयोग गरेर इन्जिनियर बन्न र यो क्षेत्र र देशकै प्रतिष्ठा राख्न आग्रह गर्नुभयो ।फाउण्डेसनको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले फाउण्डेसनले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीको भविश्य उज्ज्वल बनाउन मद्दत गर्ने बताउनुभयो । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा कन्जुस नगरेको भन्दै श्रेष्ठले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले विनोद नेपालको सपना साकार पार्ने कुराको अपेक्षा विद्यार्थीसंग आफुले राखेको बताउनुभयो ।छात्रवृत्ति प्राप्त गरेपछि कक्षा ११ कि छात्रा निरूता आचार्यले आफ्नो भनाई राख्दै आफु छात्रवृत्ति बाट उत्साहित भएको बताउनुभयो । विद्यार्थीहरू सबैलाई राम्रो पढेर भविश्य उज्ज्वल बनाउन आग्रह गर्दै आचार्यले यो छात्रवृत्तीले पढ्नको लागि हौसला प्रदान गरेको बताउनुभयो ।कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता निश्चल गिरि, दिनेश चौलागाई, सरोज बस्नेत लगायत पत्रकार, शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो । छात्रवृत्ति वितरण कार्यक्रमको संचालन संस्थाकि कोषाध्यक्ष वृन्दा नेपालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्यारोल नेपालले राख्नुभएको थियो । फाउण्डेसनले छात्रवृत्ति बाहेक रक्तदान कार्यक्रम, वृद्वाश्रम तथा अनाथ बालिकाहरूलाई समेत सहयोग गर्दै सामाजिक कार्यहरू गर्दै आएको छ ।